काठमाडौं। सोविता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छिन्। निर्वाचन आयोगमा बुझाइएको विवरणअनुसार उनले झण्डै १० लाख रुपैयाँ खर्च गरेको उल्लेख छ।
सार्वजनिक विवरणअनुसार गौतमले कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन्। मनोनयन दर्ताका लागि ५ हजार रुपैयाँ खर्च भएको छ भने प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४ सय रुपैयाँ खर्च गरिएको छ।
त्यसैगरी मतदाता प्रशिक्षणका लागि ३० हजार, नमुना मतपत्र तथा घोषणापत्र छपाइमा ७४ हजार २ सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। वडास्तरीय प्रचार–प्रसारका लागि १ लाख रुपैयाँ खर्च गरिएको छ।
यस्तै सवारी साधन दुई वटा प्रयोग गर्दा चालक र इन्धनसहित ३ लाख २५ हजार रुपैयाँ खर्च भएको छ। स्टेशनरीमा २३ हजार ४४५ रुपैयाँ तथा खाद्यान्न, रासन र पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
निर्वाचनमा सहभागी उम्मेदवारहरूले क्रमशः आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूले निर्वाचनपछि खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सोविता गौतम चितवन क्षेत्र नम्बर ३ बाट ५९ हजार २७७ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्।






Comment