काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा शपथ कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन्।
गत ११ माघमा भएको निर्वाचनबाट १८ जना सदस्य राष्ट्रिय सभामा निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था छ।
संसद् सचिवालयले शपथ कार्यक्रममा सहभागी हुँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाक लगाएर आउन नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरेको छ। उनीहरूले निर्वाचन आयोगबाट प्राप्त सदस्यताको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि पनि साथमा ल्याउनुपर्नेछ।
नेपाली बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा अनुवाद गरी सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसपटक निर्वाचित हुनेमध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभाका पूर्वसदस्यसमेत रहेका अनुभवी राजनीतिक व्यक्तित्व हुन्।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक्लै चुनावी मैदानमा उत्रिएको थियो। तालमेलमा उम्मेदवारी दिएका उम्मेदवारहरू नै अधिकांश क्षेत्रमा विजयी भएका छन्। राष्ट्रपतिबाट मनोनित हुने एक सदस्यको पद भने अझै रिक्त रहेको छ। सरकारले सिफारिस गरेपछि उक्त पदमा राष्ट्रपतिबाट मनोनयन हुने व्यवस्था छ।






Comment