सरकार बनेको सय दिनभित्र साना बचतकर्तालाई रकम फिर्ता गर्ने रास्वपाको प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकार बनेको सय दिनभित्र साना बचतकर्तालाई रकम फिर्ता गर्ने रास्वपाको प्रतिबद्धता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीको नेतृत्वमा सरकार गठन भए सहकारी संस्थामा बचत गरेका साना बचतकर्ताको रकम सय दिनभित्र फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको वाचापत्रमा आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गरिएको छ।

वाचापत्रअनुसार सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गरिनेछ। सहकारी क्षेत्रका समस्याका कारण पीडित बनेका बचतकर्तालाई प्राथमिकतामा राख्दै राहत दिने योजना अघि सारिएको पार्टीले जनाएको छ।

रास्वपाले बचतकर्ताको रकम सुरक्षाका लागि राज्यका तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने घोषणा गरेको छ। उक्त कोषमार्फत संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गरिनेछ। विशेषगरी साना बचतकर्ताबाटै भुक्तानी प्रक्रिया सुरु गरिने वाचापत्रमा उल्लेख छ।

पार्टीले सहकारी सञ्चालकहरूलाई जेल हाल्नु मात्र समाधान नभएको उल्लेख गर्दै मुख्य उद्देश्य बचतकर्ताको रकम फिर्ता गराउनु रहेको स्पष्ट पारेको छ। “हाम्रो उद्देश्य सञ्चालकलाई थुन्नु मात्र होइन, बचतकर्ताको पैसा फिर्ता गराउनु हो,” वाचापत्रमा भनिएको छ।

नीतिअनुसार सहकारी वित्तीय संस्थाका सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता गर्न तयार भए कानुनी मिलापत्रको बाटो खुला गरिने पनि रास्वपाले जनाएको छ। यस्तो अवस्थामा पूर्ण ग्यारेन्टी र निश्चित समयसीमा तोकेर सञ्चालकलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन तथा ऋण असुली गर्ने अवसर दिने व्यवस्था गरिने उल्लेख गरिएको छ।

प्रकाशित : 19 February, 2026 6:21 pm