काठमाडौं २२ जेठ ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संचालकको संख्या घटाउन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ (बाफिया) लागु भएसंगै राष्ट्र बैंकले नयाँ व्यवस्था अनुसार सञ्चालकहरुको संख्या सम्बन्धि व्यवस्था गर्न यस्तो निर्देशन दिएको हो ।
सोमबार राष्ट्र बैंकले प्रबन्ध पत्र वा नियमावलीमा भएको सञ्चालकको संख्या सम्बन्धि प्रावधान संशोधन गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले क देखि घ वर्गसम्मका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई साधारण सभा वा विशेष साधारण सभा बोलाएर प्रचलित कानुन बमोजिम कायम गर्न निर्देशन दिएको हो ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा संख्या कम्तिमा ५ जना देखि बढीमा ७ जना सम्म संचालक बन्न पाउने व्यवस्था छ । यसअघि कम्तिमा ७ जना देखि ९ जना सम्म सञ्चालक रहन सक्ने व्यवस्था रहेको थियो ।
अब साधारण सभा सकिसकेका बैंकहरुले विशेष साधारण सभा मार्फत तथा साधारणसभा नगरेका बैंकहरुले साधारणसभा मार्फत प्रबन्धपत्र र नियमावली संशोधन र त्यसै अनुसार सञ्चालकहरुको व्यवस्था पनि गर्नुपर्ने छ ।
नयाँ व्यवस्थाअनुसार संवैधानिक पद धारण गरेकाले त्यो पदमा रहुन्जेल बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति र कार्यकारी प्रमुखको पदमा बस्न पाउने छैनन् । अब सांसदहरु बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन । व्यवसायीलाई भने सञ्चालक वन्न रोक लगाएको छैन् ।
स्नातक उत्तीर्ण गरी विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सङ्गठित संस्था वा नेपाल सरकारको सेवामा सञ्चालक वा पदाधिकारी तहमा ३ वर्ष काम गरेको व्यक्ति बैंक सञ्चालकका लागि योग्य हुने ऐनमा उल्लेख गरिएको छ ।
बाफियामा एउटै व्यक्ति बैंक तथा वित्तीय संस्थाको संचालक र बीमामा संचालक बन्न रोक लगाएको छ ।
Comment