काठमाडौं । होटल फरेष्ट इन लिमिटेड (होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ) ले आफ्नो शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ। यस सम्बन्धमा दुवै पक्षबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।
सम्झौताअनुसार शेयर रजिष्ट्रार सेवा अन्तर्गत एनआईसी एशिया क्यापिटलले होटल फरेष्ट इन लिमिटेडको संस्थापक समूह तथा सर्वसाधारणमा निष्काशन गरिएको साधारण शेयरहरू सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड मा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत गराउने तथा सर्वसाधारणमा बाँडफाँट भएको शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिने कार्य गर्नेछ।
त्यसैगरी कारोबार भएका शेयरहरूको अभिलेख राख्ने, दाखिल–खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक गर्ने लगायत शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू अब एन आई सी एशिया क्यापिटलमार्फत सञ्चालन हुनेछन्।
कम्पनीका अनुसार उक्त सेवा २०८२ साल फागुन १० गते आइतबारदेखि ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंस्थित एन आई सी एशिया क्यापिटलको कार्यालयबाट सुरु हुनेछ।
यस सम्बन्धमा सम्पूर्ण शेयरधनी महानुभाव तथा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइएको कम्पनीले जनाएको छ।






Comment