काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ का लागि २२ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको छ। प्राधिकरणद्वारा प्रकाशित ‘बीमा प्रतिबिम्ब’ अनुसार पुस मसान्तसम्म १२ जीवन बीमा, ७ निर्जीवन बीमा र ३ लघु बीमा कम्पनीहरूको अडिटेड वित्तीय विवरण स्वीकृत गरिएको हो।
बीमा ऐन, २०७९ अनुसार प्रत्येक बीमा कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखापरीक्षण गरिएको वासलात तथा नाफा–नोक्सान विवरण तोकिएको ढाँचामा प्राधिकरणसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार प्राप्त विवरणहरूको अध्ययनपछि स्वीकृति प्रदान गरिएको प्राधिकरणले जनाएको छ।
वित्तीय विवरण स्वीकृत हुने जीवन बीमा कम्पनीहरूमा सिटिजन्स लाइफ, नेपाल लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स लाइफ, नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सूर्यज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ र हिमालयन लाइफ रहेका छन्।
निर्जीवन बीमा कम्पनीतर्फ आईजिआई प्रुडुन्सियल, सिद्धार्थ प्रिमियर, शिखर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत भएको छ। लघु बीमा कम्पनीमध्ये गार्डियन माइक्रो लाइफ, प्रोटेक्टिभ माइक्रो र लिवर्टी माइक्रोको विवरण पास भएको प्राधिकरणले जनाएको छ।
हाल प्राधिकरणबाट इजाजतपत्र प्राप्त १४ जीवन, १४ निर्जीवन, ७ लघु तथा २ पुनर्बीमा कम्पनी गरी कुल ३७ बीमा कम्पनी सञ्चालनमा छन्।
प्राधिकरणका अनुसार तोकिएको समयसीमाभित्र वित्तीय विवरण पेश नगर्ने कम्पनीलाई जरिवाना लाग्नेछ। हालसम्म दुई पुनर्बीमा, दुई जीवन, सात निर्जीवन र चार लघु बीमा कम्पनीले समयमै विवरण पेश गर्न नसकेको जनाइएको छ।





Comment