काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमअन्तर्गत नेपाल सरकारले बीमाको रकम भुक्तानी नगरे महानगरपालिकाले नै उक्त रकम तिर्ने प्रतिबद्धता जनाएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बीमा बापतको भुक्तानी ढिलाइ हुँदा अस्पताल सञ्चालनमै समस्या देखिएको बताए। उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै भुक्तानी अभावका कारण सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले बेहोर्नुपर्ने उल्लेख गरे।
महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पिए महानगरपालिकाले सो दायित्व पूरा गर्ने स्पष्ट पारे। साथै, पाटन अस्पतालकै प्राविधिक सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना भइरहेको र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए।
उनका अनुसार उक्त केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले थप गुणस्तरीय सेवा पाउनेछन्। ललितपुर महानगरपालिका र पाटन अस्पतालबीचको सहकार्य देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्ने उनको विश्वास छ।
मेयर महर्जनले ललितपुर महानगर अन्य ७५२ पालिकामध्ये उदाहरणीय पालिकाका रूपमा स्थापित भएको दाबी समेत गरे।





Comment