काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले बिहीबार २२ औँ वार्षिकोत्सव मनाउँदै गर्दा कर्मचारीहरूले मौन विरोध प्रदर्शन गरेका छन्। टेलिकममा आबद्ध तीनवटा कर्मचारी सङ्गठन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमले संयुक्त रूपमा विरोध जनाएका हुन्।
सङ्गठनहरूले ‘हामी अन्यायमा छौँ, न्यायका लागि हाम्रो आवाज’ लेखिएको व्यानर बोकेका थिए। त्यस्तै, उनीहरूले आवधिक बढुवा, कर्मचारी विनियमावलीको संशोधन, सेवा सुविधा सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका थिए।
विनियमावली संशोधन नभएका कारण कतिपयले १३–१४ वर्षदेखि एउटै पदमा काम गर्दै आएका छन्। युनियनका अनुसार, कर्मचारी विनियमावली २००८ पछि वृत्तिविकास अवरुद्ध हुँदा अधिकृत तहमा बढुवा रोकिएको र यसले संरचनागत असन्तुलन सिर्जना गरेको छ।
त्यस्तै, साधारणसभाबाट स्वीकृत बोनस र सरकारको निर्णयअनुसारको महँगी भत्ता वितरण रोकिएकोमा पनि उनीहरूले आपत्ति जनाएका छन्। युनियनले जनाएको छ कि सुविधा र अधिकारमा अवरोधले कर्मचारी मनोबल घटेको र उत्पादनशीलतामा असर परेको छ।
संयुक्त प्रेस विज्ञप्तिमा कर्मचारीहरूले संस्थाको बिलिङ प्रणाली, परियोजना ढिलाइ, कर्मचारी वृत्तिविकास र सेवाग्राही अधिकार लगायत विषयमा तत्काल सुधार गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ कि हालको बिलिङ प्रणाली पुरानो छ र नयाँ प्रणाली कार्यान्वयन पटक–पटक ढिलाइ हुँदा आर्थिक कारोबार र सेवाग्राहीका संवेदनशील विवरण जोखिममा परेको छ। केही इन्टरनेट सेवा प्रदायकले आवश्यक अनुमति बिना सेवा विस्तार गरिरहेका कारण कडा नियमन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।





Comment