बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) को २७ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष श्री कैलाश के.सी. ले गर्नुभएको थियो।
समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ लि. नेपालका पूर्व अध्यक्ष केशब प्रसाद बडाल रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का श्री उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने तथा कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गाेपाल प्रसाद दाहाल रहनुभएको थियो।
कार्यक्रममा वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मानअन्तर्गत उत्कृष्ट बचतकर्तातर्फ इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबारतर्फ सुनिता पाण्डे र विश्वनाथ मानन्धर तथा उत्कृष्ट बालबचतकर्तातर्फ रिभा उपाध्याय र युवेश थापा सम्मानित हुनुभयो। नियमित रक्तदाता सम्मान दिपक सुवाललाई प्रदान गरिएको थियो।
यसैगरी बुसा शैक्षिक सम्मान अन्तर्गत स्नातकोत्तर, स्नातक तथा दश जोड दुई तहका गरी कुल ६९ जना विद्यार्थीहरू सम्मानित भएका थिए। तह उत्कृष्टतर्फ स्नातकोत्तरमा दिनेश भुर्तेल, स्नातकमा सुमिना अवा र दश जोड दुईमा कृशला लुइटेल सम्मानित हुनुभयो। तह उत्कृष्ट ३ जनालाई जनही नगद रु. ५,००० सहित बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्रदान गरिएको थियो।
संस्थामा २० वर्ष सेवा पुर्याउनुभएका कार्यकारी अधिकृत रञ्जना सुवाललाई दीर्घ सेवा पदक तथा सम्मान प्रदान गरिएको थियो। त्यस्तै १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरू—बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेञ्जर मुकुन्द पराजुली र सुरक्षा सहयोगी नवराज भुजेल—लाई दशक सेवा पदक तथा सम्मान प्रदान गरियो।
वर्षको उत्कृष्ट कर्मचारी २०८२ सम्मान सदस्य सहजकर्ता दिवाकर सुवेदीलाई प्रदान गरिएको थियो। सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत कान्छीमाया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सेवा गर्दै आउनुभएका डा. दिलबहादुर तामाङलाई विशिष्ट सदस्य सम्मान प्रदान गरिएको थियो।
समारोहमा संस्थाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका २८ जना विशेष क्षमता भएका सदस्यहरूलाई सम्बन्धित सदस्यको घरमै गई भेटघाट तथा सहयोग उपलब्ध गराउने घोषणा समेत गरेको छ।
कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरू, उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट सदस्यबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो। स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यकारी अधिकृत रञ्जना सुवालले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा संस्थाका अध्यक्ष कैलाश के.सी. ले धन्यवाद ज्ञापन गर्नुभयो।
समारोहले सहकारी अभियान, शिक्षा, सामाजिक उत्तरदायित्व र सदस्य सेवाप्रति संस्थाको प्रतिबद्धतालाई थप सुदृढ बनाएको सहभागीहरूको धारणा थियो।







Comment