किसान बहुउद्देश्यीय सहकारीले पायो सञ्चालन इजाजतपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

किसान बहुउद्देश्यीय सहकारीले पायो सञ्चालन इजाजतपत्र




काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ ।

Pबचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले ‘सहकारी संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको हो । संस्थाले इजाजतपत्र नम्बर २०५२–००२०६ प्राप्त गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभरि तथा बर्दिया जिल्लाको राजापुर नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीले यही माघ ९ गते इजाजतपत्र पाएको हो । हाल संस्थामा ९४ हजार २७६ जना सदस्य तथा २९ हजार ६०३ जना ऋणी सदस्य रहेका छन् ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माका अनुसार हालसम्म प्राधिकरणबाट करिब २ सय सहकारी संस्थाले सञ्चालन इजाजतपत्र प्राप्त गरिसकेका छन् ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता तथा अभिलेखीकरणका लागि मंसिर १० गतेदेखि अनलाइन पोर्टलमार्फत आवेदन प्रक्रिया सुरु गरेको थियो । कानुनी व्यवस्थाअनुसार यस्ता सम्पूर्ण सहकारी संस्थाले प्राधिकरणबाट अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ ।

प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन)’ जारी गर्दै संस्थाहरूलाई ६० दिनको समयसीमा तोकेको थियो । उक्त समयसीमा आज सकिएको छ ।

हालसम्म अनलाइन पोर्टलमार्फत करिब ४ हजार सहकारी संस्थाले मात्र आवेदन दिएको जानकारी दिँदै अध्यक्ष शर्माले आवेदन दिने समय थप गरिने बताए । समय कति दिन थप गर्ने भन्ने विषयमा प्राधिकरणको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।

प्रकाशित : 23 January, 2026 8:47 pm