काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा योजनाकारसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लुटिएको ३ करोड ७ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
गत पुस २९ गते साँझ घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा प्रवेश गरेका लुटेराको समूहले सुरक्षा गार्ड र बैंक कर्मचारीलाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरी घाइते बनाएको थियो। त्यसपछि भल्ट खोली नगद रकम बोरा र झोलामा हालेर उनीहरू फरार भएका थिए।
घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको प्रहरी टोलीले बैंक कर्मचारी र सुरक्षा गार्डलाई बाँधिएको तथा मुखमा टेप लगाइएको अवस्थाबाट उद्धार गरेको थियो। त्यसलगत्तै प्रहरी उपरीक्षकको कमान्डमा ५० जनाको टोली परिचालन गरी व्यापक खोजतलास सुरु गरिएको थियो।
खोजतलासकै क्रममा घटनास्थलदेखि करिब २ किलोमिटर पूर्व लिपिखोलामा बा।ड।०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंह थापालाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक सोधपुछपछि जङ्गलमा लुकाइछिपाइ राखिएको १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको थियो।
३० गते बिहान घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट थप ४ जनालाई पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको बयानका आधारमा लुकाइछिपाइ राखिएको थप ८३ लाख ३५ हजार रुपैयाँ नगद समेत बरामद गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैंक रहेको घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्युले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाउँदै आएका थिए। यसअघि मंसिर २३ गते लुट्ने प्रयास असफल भएपछि उनीहरूले पुनः योजना बनाई पुस २९ गते लुटपाट गरेका थिए।
लुटपाटका लागि आवश्यक हातहतियारको व्यवस्था तथा सूचना घरधनी स्याङ्तानले उपलब्ध गराएको खुल्न आएको प्रहरीले जनाएको छ। लुटेराहरूले शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई भल्ट खोल्न बाध्य बनाएको समेत प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएका खुकुरी २ थान, प्लाष्टिकको पेस्तोल १ थान, मोबाइल फोन ५ थान बरामद गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन र नुवाकोटका व्यक्ति तथा १६ वर्षका एक किशोर रहेका छन्।
पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।






Comment