काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले प्रतिनिधिहरूबाट ६३ प्रतिशत हस्ताक्षर संकलन भइसकेको जानकारी दिएका हुन्।
सोमबार साँझ विशेष महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हस्ताक्षर संख्या थपिँदै गएको बताए। उनका अनुसार अघिल्लो दिनसम्म २ हजार ६६२ प्रतिनिधिले हस्ताक्षर गरेका थिए भने सोमबारसम्म थप ६.२४ प्रतिशत वृद्धि भएको छ।
“अहिले ६३ प्रतिशत प्रतिनिधिहरूको समर्थन प्राप्त भएको छ। हस्ताक्षर गर्ने क्रम अझै जारी छ। हामी ७० प्रतिशत पुर्याएर देखाउनेछौं,” उनले भने।
यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको छ। प्रचार संयोजक पोखरेलका अनुसार बन्दसत्र मंगलबार (पुस २९) बिहान ९ बजे पुनः सुरु हुनेछ।






Comment