काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा पुस २४ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित विभिन्न जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक संकट र सो को विरुद्ध सुरक्षा कवचको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
सभामा सेयधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतीबाट स्वीकृत भयो । त्यसैगरी, कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटमा २ तल्ला पार्किङ्ग सहित ११ तल्लाको भवन निर्माणको कार्य सम्पन्न भई ठेकेदार कम्पनीबाट कम्पनीलाई हस्तान्तरण प्राप्त भई यही २०८२ माघ महिना भित्रमा कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्शालबाट पानीपोखरी स्थित आफ्नै भवनमा सर्ने र कम्पनीलाई आवश्यक पर्ने ४ तल्लासम्म प्रयोग गरी अन्य तल्लाहरु भाडामा लगाई आम्दानी गरिने व्यहोरा समेत सभालाई जानकारी गराइयो ।
सभामा अध्यक्ष ढकालले विश्व बजारमा तीव्र आर्थिक प्रतिस्पर्धा रहेको बर्तमान परिवेशमा सूचना प्रविधिको माध्यामबाट छरितो, सुरक्षित र प्रभावकारी सेवा प्रदान गर्नु अपरिहार्य बन्दै गएको र यही आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले प्रविधिमैत्री सेवामा जोड दिंदै आएको र चालु आर्थिक बर्षमा अझै बढी डिजिटल, सरल र ग्राहक मैत्री बनाउने लक्ष्य रहेको पनि सभालार्ई जानकारी गराए ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले देशको सातै वटै प्रदेशमा रहेका ९० वटा शाखा सञ्जालबाट आफ्नो बलियो उपस्थिती सहित ५३१ जना कर्मचारीहरु, ४३० अभिकर्ताहरु र १९२ सर्भेयरहरु मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको र २०८२ साल माघ महिनाको अन्तसम्ममा कम्पनीको प्रधान कार्यालयबाट प्रदान गरिने सेवाहरु पानीपोखरी स्थित आफ्नै भवनबाट प्रदान गरिने व्यहोरा सभालाई जानकारी गराए ।






Comment