स्वास्थ्य बीमाको ३८ करोड भुक्तानी नपाउँदा शिक्षण अस्पताललाई आर्थिक संकट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

स्वास्थ्य बीमाको ३८ करोड भुक्तानी नपाउँदा शिक्षण अस्पताललाई आर्थिक संकट



काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको ३८ करोड भुक्तानी नपाउँदा शिक्षण अस्पताललाई आर्थिक संकट परेकाे भन्दै बीमा बीमा सञ्चालन नगर्ने चेतावनी दिएकाे छ । अस्पतालले सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार गराएका बिरामीको रकम समयमै नपाउँदा आर्थिक संकट झेल्नुपरेको जनाएको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै सरकारको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको बताएको हो । शिक्षण अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पठाएको पत्रअनुसार २०७७ सालदेखि हालसम्म अस्पतालले पाउनुपर्ने ३८ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन बाँकी रहेको छ ।

बीमा दाबी समयमै भुक्तानी नहुँदा अस्पतालको दैनिक आर्थिक कारोबारमा प्रत्यक्ष असर परेको अस्पतालको भनाइ छ ।करिब दुई करोडसम्म बीमा उपचारबाट घाटा व्यहोर्नु परेको बताउँदै अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘मासिक ४–५ करोडको बीमा दाबी हुने यस त्रि।वि। शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा विगत २०७७ सालदेखि निरन्तर शिक्षण अस्पतालको रकमलाई नै अन्तिम रकम मानिदिनु भनी विगत २ वर्षदेखि आग्रह गर्दै आएका छौँ । यस त्रि।वि। शिक्षण अस्पताल सरकारी संस्था भएर पनि मासिक १२–१४ करोड स्वयंले नै तलब भत्ता भुक्तानी गर्नु पर्ने यस संस्थामा मासिक डेढ देखि २ करोड स्वास्थ्य बीमा उपचारबाट घाटा व्यहोर्ने परेकोले सो घाटा सधैँको लागि गर्न व्यहोर्ने नसकिने जानकारी गराउँदछौँ ।’

अस्पतालले प्रति महिना औसत १२ देखि १५ करोड रुपैयाँसम्म खर्च व्यहोर्नुपरेको छ । तर बीमा कार्यक्रमबाट प्राप्त हुनुपर्ने रकम निरन्तर रोकिँदा औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति, सेवा प्रदायकलाई भुक्तानी तथा अस्पताल सञ्चालनमा समस्या देखिन थालेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले पटक–पटक स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई जानकारी गराउँदा पनि समाधान नभएको जनाएको छ । बीमा रकम नआउँदा अस्पतालले आन्तरिक आम्दानीबाट खर्च धान्नुपरेको र यसले दीर्घकालीन रूपमा सेवा प्रवाह नै प्रभावित हुने अस्पतालको भनाई छ ।

अस्पतालमा स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामीहरूको सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै दैनिक २० देखि २५ लाखसम्म खर्च हुने गरेको छ । विगत १ वर्ष देखि बारम्बार सरकार बीमा बोर्ड तथा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँदा पनि कुनै हल नआएकोले बीमाबाट उपचार बापत यस अस्पतालले पाउनु पर्ने बाँकी रकम प्राप्त नभएको अवस्थामा र अस्पतालको दररेट अनुसार सम्झौता नभएमा आगामी माघ ०१ गतेदेखि बीमा सञ्चालन नगर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित : 7 January, 2026 4:03 pm