काठमाडौँ। सूचीकृत १५ वटा विकास बैंकमध्ये यस वर्ष ८ वटाले लाभांश वितरण गर्ने भएका छन्। हालसम्म ९ विकास बैंकले गत आर्थिक वर्षको वार्षिक साधारणसभाको मिति तोकिसकेका छन्, जसमा एउटा बैंकले भने लाभांश नदिने निर्णय गरेको छ।
लुम्बिनी विकास बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो। अघिल्लो वर्ष ७ प्रतिशत लाभांश दिएको बैंकले यसपटक कुनै लाभांश प्रस्ताव नगरी पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ।
अहिलेसम्म ६ विकास बैंकले भने साधारणसभाको मिति तय गरेका छैनन्। सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले अझै साधारणसभा बोलाएका छैनन्।
यता, पुस महिनाको अन्त्य नजिकिँदै गर्दा केही विकास बैंकले भने साधारणसभा सम्पन्न गरिसकेका छन्। कामना सेवा विकास बैंकले असोज २४ गते, मुक्तिनाथ विकास बैंकले कात्तिक १५ गते, गरिमा विकास बैंकले कात्तिक २७ गते, मितेरी डेभलपमेन्ट बैंकले मङ्सिर ६ गते, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मङ्सिर २६ गते र सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते वार्षिक साधारणसभा सम्पन्न गरेका हुन्। ती सभाबाट प्रस्तावित लाभांश पारित भइसकेका छन्।
लाभांश दरतर्फ हेर्दा यस वर्ष मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी १८.२ प्रतिशत लाभांश वितरण गरेको छ। त्यसपछि कामना सेवा विकास बैंकले १५.७९ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत, गरिमा विकास बैंकले १०.५३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले १०.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेका छन्।
यसैबीच, महालक्ष्मी विकास बैंकले पुस २१ गते हुने साधारणसभाबाट १०.३७ प्रतिशत लाभांश पारित गर्ने तयारी गरेको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकले पुस ३० गते बोलाएको साधारणसभामा ८.४६ प्रतिशत लाभांश प्रस्ताव पेश गर्ने एजेन्डा राखेको छ।
साधारणसभा बोलाउन बाँकी रहेका बैंकहरूले भने लामो समयदेखि लाभांश वितरण नगरेको तथ्यांक देखिन्छ। सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ यता, सिन्धु विकास बैंकले २०७५/७६ देखि, एक्सेल डेभलपमेन्ट बैंकले २०७७/७८ देखि तथा कर्पोरेट डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकले २०७८/७९ देखि लाभांश वितरण गरेका छैनन्। नारायणी डेभलपमेन्ट बैंकले भने स्थापना यता अहिलेसम्म लाभांश वितरण गर्न सकेको छैन।






Comment