चितवन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको ५९ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै ढकालले अझै पनि उद्योगी र व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन् ।
उनले राज्य र समाजले व्यवसायीलाई हेर्ने नजर नफेरियलेसम्म लगानीको वातावरण नबन्ने स्पष्ट पारे । हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो भौतिक र मानसिक आक्रमण भएको उल्लेख गर्दै ढकालले ती घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
दोषीलाई कारबाही नभएसम्म आगामी दिनमा पनि निजी क्षेत्र असुरक्षित भइरहने उनको ठम्याइ छ । निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले सरकारले आवश्यक सुरक्षा दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले व्यवसायीहरूको हकहितका लागि निरन्तर क्रियाशील भएर काम गरेको बताए । उद्योगीहरूका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको पटकपटक ध्यानाकर्षण गराइएको उनले बताए ।
यस सभामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।






Comment