नाडाको नेतृत्वमा को को आए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अटो

नाडाको नेतृत्वमा को को आए ?



काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) मा सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि १७ सदस्यीय पदका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन हुने सम्भावना देखिएको थियो। तर अन्तिम समयमा उम्मेदवार दीपककुमार अग्रवालले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा सर्वसम्मति कायम भएको हो।

व्यक्तिगत सदस्यतर्फ विक्रम सिंहानिया, दीपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, नारायणप्रसाद पौडेल, अनुपकुमार बराल, अभिक ज्योति, पंकज अग्रवाल, निलमणि पाठक, नवीनकुमार परख, विमल साह, दिवाकर मिश्रा, दीपकराज गिरी, नवराज भुषाल, तोयानाथ खनाल, मिलनबाबु मल्ल, प्रकाश कपुरी र विकास जोशी निर्वाचित भएका छन्।

त्यस्तै, संस्थागत सदस्यतर्फ सातै प्रदेशका अटोमोबाइल्स एशोसिएसनबाट प्रतिनिधिहरू चयन भएका छन्। जसअनुसार मोरङबाट डिल्लीराज आचार्य, जानकीबाट केदारकुमार अग्रवाल, हेटौंडाबाट दामोदर प्रसाद अटल, पश्चिमाञ्चलबाट दीपेन्द्र कोइराला, लुम्बिनीबाट गणेशप्रसाद भट्टराई, कर्णालीबाट भद्र भण्डारी र सुदूरपश्चिमबाट पुस्करराज ओझा निर्वाचित भएका छन्।

नाडाको विधानअनुसार २९ सदस्यीय कार्यसमितिमध्ये २५ जना निर्विरोध चयन भएका हुन्। निवर्तमान अध्यक्ष स्वतः सदस्य रहने व्यवस्था छ भने बाँकी तीन सदस्य नयाँ कार्यसमितिले मनोनित गर्नेछ।

यसअघि गत पुस ९ गते ४९औँ वार्षिक साधारण सभा सम्पन्न भए पनि निर्वाचन कार्यतालिका नमिलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुनः निर्वाचन गराउन निर्देशन दिएको थियो। सोहीअनुसार पुस २५ गतेका लागि निर्वाचन तय गरिएको थियो। तर व्यवसायीहरूबीचको आपसी समझदारी र एकताका कारण मतदान प्रक्रिया बिना नै नयाँ नेतृत्व चयन गरिएको हो।

प्रकाशित : 2 January, 2026 11:53 am