डिजिटल डिसेम्बरमा लक्ष्मी सनराइज बैंककाे उद्यम नवप्रवर्तनलाई समर्थन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

डिजिटल डिसेम्बरमा लक्ष्मी सनराइज बैंककाे उद्यम नवप्रवर्तनलाई समर्थन



काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नै डिजिटल डिसेम्बर २०२५ – “उद्यम सशक्तिकरण” अभियान अन्तर्गत नेपालमा प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित उद्यम नवप्रवर्तनलाई प्रवर्द्धन गर्न Aadyanta Advisory Pvt. Ltd. र अमेरिकन चेम्बर अफ कमर्स नेपाल (AmCham Nepal) सँग समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ।

हाल सातौँ वर्षमा पुगेको डिजिटल डिसेम्बर अभियान प्रारम्भमा डिजिटल सचेतना फैलाउने उद्देश्यले सुरु भएको थियो भने अहिले यो उच्च मूल्य र उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, उद्यम प्रणालीमा बैंकिङ समाधान एकीकृत गर्ने र डिजिटल प्लेटफर्मलाई व्यवसायिक भुक्तानीको मुख्य माध्यम बनाउने रणनीतिक प्लेटफर्मको रूपमा विकास भएको छ।

नयाँ समझदारीपत्रले बैंकको उद्यम डिजिटलाइजेशन योजना नवप्रवर्तनको प्रारम्भिक चरणसम्म पुर्‍याउने लक्ष्य राखेको छ। यसले स्टार्टअप, प्रारम्भिक चरणका संस्थापक र उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार, विशेषज्ञता र पूँजी उपलब्धतासँग जोड्ने अवसर प्रदान गर्नेछ।

डिजिटल अपनत्वदेखि डिजिटल सिर्जनासम्म
समझदारीपत्र अन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य स्तम्भहरूसँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ। यसमा नवप्रवर्तकहरूलाई डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि Open API वा Sandbox वातावरणमा पहुँच, प्रारम्भिक चरणका उच्च सम्भावनाका उद्यमसँग बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन, डिजिटल वित्त, फिनटेक आधारित वृद्धि र स्टार्टअप पूँजी पहुँच सम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्।

सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापी कार्यक्रमहरू — Seeding and Scaling Innovations, Code for Impact Hackathons, र U.S.–Nepal Commercial Diplomacy Discussion Series — लाई समेत सघाउनेछ। यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उद्यमीहरू सहभागी हुनेछन्। कार्यक्रममा वित्तीय प्रविधि, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रमा उद्यमी तयार पार्ने लक्ष्य राखिएको छ।

नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय
डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तन समर्थनसँग जोड्दै, लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहको रूपमा स्थापित गर्ने प्रयास गर्दै आएको छ। यस समझदारीपत्रले API, एकीकृत भुक्तानी प्रणाली र host-to-host कनेक्टिभिटीमार्फत व्यवसायहरूलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

Aadyanta Advisory कार्यक्रम डिजाइन, मार्गदर्शन र संलग्नता समन्वय गर्नेछ भने AmCham Nepal र Aadhyanta Fund Management ले निजी क्षेत्रका सञ्जालमार्फत ज्ञान आदानप्रदान, दृश्यता र व्यापक सहभागिता सुनिश्चित गर्नेछन्।

डिजिटल डिसेम्बर २०२५ को एक महिनाभरि सञ्चालन हुने राष्ट्रव्यापी उद्यम संलग्नता अभियानको समापनसँगै, यस समझदारीपत्रले लक्ष्मी सनराइज बैंकको लेनदेन डिजिटलाइजेशनबाट उद्यम, नवप्रवर्तक र प्रणालीहरू सशक्त बनाउने रणनीतिक भूमिकामा रूपान्तरणलाई झल्काउँने जनाएकाे छ।

प्रकाशित : 26 December, 2025 2:11 pm