काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक इनड्राइभले यात्रु सुरक्षालाई केन्द्रमा राख्दै ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंको रोजाइमा’ भन्ने नारासहित नयाँ सुरक्षा सचेतना अभियान सुरु गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा कम्पनीकी ब्राण्ड एम्बेस्डर तथा अभिनेत्री स्वस्तिमा खड्काले अभियानको औपचारिक शुभारम्भ गरिन्।
कम्पनीका अनुसार यो अभियानमार्फत प्रयोगकर्तालाई इनड्राइभ एपमा उपलब्ध सुरक्षा सुविधाहरूको जानकारी दिनुका साथै यात्रालाई अझ सुरक्षित र भरोसायोग्य बनाउने लक्ष्य लिइएको छ।
कार्यक्रममा बोल्दै खड्काले इनड्राइभसम्बन्धी समाजमा रहेका गलत बुझाइ हटाउन अभियानले सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
उनले केही प्रयोगकर्तामा इनड्राइभको सुरक्षा र बीमा सुविधाबारे भ्रम रहेको उल्लेख गर्दै अभियानले एपभित्रका सबै सुरक्षा उपायहरू सजिलै बुझिने गरी यात्रुसम्म पुर्याउने बताइन्। यात्रु आफैंले आफ्नो रोजाइअनुसार सुरक्षित यात्रा तय गर्न पाउने स्वतन्त्रता इनड्राइभको विशेषता भएको उनको भनाइ थियो। साथै, यस सन्देशलाई आम जनतासम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले जोड दिइन्।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले कम्पनीका लागि सुरक्षा सबैभन्दा ठूलो जिम्मेवारी भएको बताइन्। अभियानमार्फत इनड्राइभका विभिन्न सुरक्षा फिचरबारे जानकारी दिइएको उनले जानकारी गराइन्।
एपमार्फत यात्रुले आफूलाई लिन आउने राइडरको प्रोफाइल, रेटिङ तथा पूरा गरिएका यात्राको संख्या हेरेर आफूलाई उपयुक्त र सुरक्षित लाग्ने चालक छनोट गर्न सक्ने सुविधा उपलब्ध छ। यात्राको क्रममा लाइभ लोकेसन परिवार वा साथीहरूसँग सेयर गर्न सकिने भएकाले यात्राको निगरानी सहज हुन्छ। आपत्कालीन अवस्थाका लागि एपबाटै प्रहरी वा आपत्कालीन सम्पर्कमा सिधा फोन गर्न सकिने व्यवस्था पनि रहेको छ।
यात्रा सम्पन्न भएपछि यात्रु र राइडरले एक–अर्कालाई रेटिङ दिन सक्छन्, जसले सेवाको गुणस्तर र जिम्मेवारी बढाउन मद्दत पुर्याउँछ। इनड्राइभमार्फत हुने प्रत्येक यात्रा बीमाबाट सुरक्षित हुने भएकाले यात्रु र चालक दुवैलाई ढुक्क हुने वातावरण बनाएको कम्पनीको भनाइ छ। साथै, ‘हिडन कल’ सुविधाले यात्रु र चालकको व्यक्तिगत नम्बर गोप्य राख्ने भएकाले निजी विवरण सुरक्षित रहन्छ।
इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले यी सबै सुरक्षा फिचरहरू प्रत्येक यात्रामा सक्रिय रूपमा प्रयोग गर्न प्रयोगकर्तालाई आग्रह गरिन्। उनका अनुसार राइड सुरु हुनुअघि, यात्राको क्रममा र यात्रा सकिएपछि गरी तीनै चरणमा सुरक्षा सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।
यसका साथै इनड्राइभले यात्रुको सुरक्षासँगै राइडरहरूलाई उत्साहित गर्न विभिन्न प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। हालै ‘प्लाटिनम गिभअवे’ अन्तर्गत कार र बाइक वितरण गरेको कम्पनीले क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै नयाँ उपहार योजना पनि ल्याएको छ। यस योजनामा उत्कृष्ट राइडरहरूले कार, बाइक, स्मार्टफोन, स्मार्टवाच तथा फ्युल भौचर जित्ने अवसर पाउनेछन्।





Comment