सामाजिक रूपान्तरणको दुई दशक : जनउत्थान साकोसको २०औँ वार्षिकोत्सव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामाजिक रूपान्तरणको दुई दशक : जनउत्थान साकोसको २०औँ वार्षिकोत्सव



काठमाडौं । रुपन्देहीमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि गर्दै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको छ। सानो बचतबाट सुरु भएको सहकारी आज जिल्लाकै अग्रणी सामाजिक संस्थामध्ये एक बनेको छ।

सामाजिक उत्तरदायित्वमा सवा ११ लाखको लगानी

यस आर्थिक वर्षमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सवा ११ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको जनाएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, उज्यालो अभियान र सार्वजनिक पूर्वाधार क्षेत्रमा केन्द्रित कार्यक्रमहरूले सहकारीको सामाजिक प्रतिबद्धता स्पष्ट पारेका छन्।

शिक्षामा दीर्घकालीन लगानी : जनउत्थान छात्रवृत्ति

वार्षिकोत्सवको अवसरमा जनउत्थान साकोसले सदस्य तथा एकाघर परिवारका दश जोड दुई र स्नातक तहमा अध्ययनरत ८० जना विद्यार्थीलाई ४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। प्रति विद्यार्थी ५ हजार रुपैयाँका दरले प्रदान गरिएको छात्रवृत्तिले अध्ययन निरन्तरतामा सहयोग पुगेको संस्थाले जनाएको छ।

जेष्ठ सदस्यदेखि आमा समूहसम्म सम्मान र सहभागिता

संस्थाले एक हजार जेष्ठ सदस्यलाई सम्मान गर्दै सामाजिक समावेशितालाई प्राथमिकता दिएको छ। साथै बाख्रा पालक सदस्यलाई निब्र्याजी ऋण सहयोग, आमा समूह सहकारी हाजिरीजवाफ कार्यक्रम, अधिकतम संरक्षित पूँजीकोष प्राप्तकर्ता सम्मान, निःशुल्क चिठ्ठा उपहार तथा विविध सांस्कृतिक र खेल गतिविधि आयोजना गरिएको थियो।

सेवाकेन्द्रमार्फत शिक्षा, स्वास्थ्य र सुरक्षामा योगदान

वार्षिकोत्सवको अवसरमा संस्थाले आफ्ना विभिन्न सेवाकेन्द्रमार्फत विद्यालयमा रंगरोगन तथा गेट निर्माण, स्वास्थ्य केन्द्रमा फर्निचर र खानेपानी सुविधा, प्रहरी तथा ट्राफिक कार्यालयमा प्रतिक्षालय, टेबल, कुर्सी र टिभी जडानलगायत सहयोग प्रदान गरेको छ। यी कार्यक्रमहरूले समुदायस्तरमा सहकारीको उपस्थितिलाई अझ मजबुत बनाएको छ।

जनउत्थान उज्यालो अभियान’ : उज्यालो र सुरक्षित सार्वजनिक स्थल

संस्थाले जनउत्थान उज्यालो अभियान अन्तर्गत तिलोत्तमा, सिद्धार्थनगर, ओमसतिया, तामनगरलगायत विभिन्न स्थानमा हाइमास्ट लाइट जडान गरी सार्वजनिक क्षेत्र उज्यालो र सुरक्षित बनाएको जनाएको छ।

सानो बचतबाट अर्बौँको यात्रासम्म
२०५२ सालमा टिकुलीगढ गाउँ विकास कार्यक्रमको सहयोगमा परिकल्पना गरिएको सहकारी २०५८ कात्तिक १५ गते ३१ जनाले एक–एक सय रुपैयाँ संकलन गरेर सुरु गरिएको थियो। २०६२ साल पौष १ गते दर्ता भएको संस्थाले हालसम्म ७ वटा सहकारी एकीकरण गर्दै जनउत्थान साकोसको वर्तमान स्वरूप लिएको छ।

संस्थागत अवस्था : सदस्य, सम्पत्ति र कारोबार

कात्तिक मसान्तसम्म संस्थामा
४० हजार ६१८ सदस्य,
११ हजार २९ ऋणी सदस्य,
४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी कुल सम्पत्ति,
२८ करोड ९५ लाख सेयर पूँजी,
३ अर्ब ५९ करोड बचत संकलन र
३ अर्ब ३६ करोडभन्दा बढी ऋण लगानी रहेको जनाइएको छ।

सहकारीमार्फत समाज परिवर्तनको सन्देश

आर्थिक सेवा मात्र नभई शिक्षा, स्वास्थ्य, सुरक्षा र सामाजिक सशक्तीकरणलाई समानान्तर अघि बढाउँदै आएको जनउत्थान साकोसको २० वर्षे यात्रा सहकारी आन्दोलनभित्र प्रेरणादायी उदाहरण बनेको छ।

प्रकाशित : 20 December, 2025 4:59 pm