काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले योजना, प्राथमिकता र नतिजा विश्लेषणबिनै गरिने खर्चका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर बन्दै गएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘सार्वजनिक खर्चको उपयोगिता र सेवा सुधार’ विषयक बहस तथा ‘अबण्डा खर्च’ सम्बन्धी अनुसन्धान प्रतिवेदन र स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी इ–बुक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले जनताबाट संकलित करको उचित र प्रभावकारी प्रयोग हुनुपर्नेमा जोड दिए। सार्वजनिक स्रोतको सदुपयोग र आर्थिक सुशासन कायम हुन नसके नागरिकमा असन्तुष्टि बढ्ने उनको भनाइ थियो। भदौ २३ र २४ गते देखिएको जेनजी प्रदर्शन पनि त्यसैको परिणाम भएको उनले उल्लेख गरे।
मन्त्री सिन्हाले बजारमा देखिने कालोबजारी, एकाधिकारजस्ता विकृतिहरू अन्त्य गर्न आवश्यक रहेको बताए। “जेनजी आन्दोलनको आधारमा बनेको सरकार सुशासन र आर्थिक पारदर्शितामा प्रतिबद्ध छ,” उनले भने, “तर केही सीमितताका कारण अपेक्षाअनुसार काम गर्न सकिएको छैन।” तथापि, सरकारले विज्ञहरूको सुझावका आधारमा काम अघि बढाइरहेको उनको भनाइ थियो।
उनले आगामी निर्वाचनसम्म सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने सरकारको दायित्व रहेको उल्लेख गर्दै सकारात्मक वातावरण सिर्जना गर्दै सरकार हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको बताए।
मन्त्री सिन्हाले राष्ट्रको आवश्यकताभन्दा पनि शक्ति र पहुँचका आधारमा बजेटमा योजना समावेश गर्ने प्रवृत्तिका कारण सरकारले केही योजना तथा कार्यक्रम कटौती गरेको जानकारी दिए। केही योजनाको बजेट रोक्का गरिएको विषयमा गुनासा आएको स्वीकार्दै उनले त्यसबारे पुनरावलोकन भइरहेको बताए।





Comment