नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा ‘साकोस शिखर गोष्ठी–२०८२’ ललितपुरको सानेपामा सुरु भएको छ। नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सुरु भएको गोष्ठीको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले गरेका हुन्।
गोष्ठीको उद्घाटन सत्रमा बोल्दै मन्त्री इङ्नामले सहकारीलाई स्वनियमनको नाममा सञ्चालन गरिए पनि जनताको बचत दुरुपयोग भइरहेकोप्रति गम्भीर प्रश्न उठाए। स्वनियमनको आडमा गरिब जनताको बचत लुट्नु गलत भएको उल्लेख गर्दै उनले सदस्यको बचत दुरुपयोग गरेर आर्जन गरिएको सम्पत्ति राज्यले जुनसुकै बेला जफत गरी पीडितलाई फिर्ता गरिने स्पष्ट पारे। उनले भने, “जनताको बचत सुरक्षित गराउने दायित्व राज्यको हो, कसैले ढुक्क भएर लुकाउन खोजे पनि त्यो सम्भव छैन।” सहकारी ऐन संशोधनमार्फत आवश्यक व्यवस्था गरिएको भन्दै अब सहकारी क्षेत्र व्यवस्थित हुने विश्वास उनले व्यक्त गरे।
देशको अर्थतन्त्र मुख्यतया रेमिट्यान्समा निर्भर रहेको उल्लेख गर्दै मन्त्री इङ्नामले सहकारीमार्फत उद्यमशीलता विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। सहकारीको प्रभावकारी नियमन आवश्यक रहेको भन्दै स्वार्थ गाँसिएको नियमनले काम नगर्ने उनको भनाइ थियो। सहकारीको बचत दुरुपयोग गर्ने जो–कोही कानुनको दायराबाट उम्किन नसक्ने उनले स्पष्ट गरे। सहकारी पीडितहरू सडकमा आएर रोइरहनु पर्ने अवस्था सहकारीको मूल भावना विपरीत भएको उल्लेख गर्दै उनले सहकारी संस्थाले सदस्यलाई समृद्धिको बाटोमा लैजाने गरी योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिए।
कार्यक्रममा सोही मन्त्रालयका सचिव मदन भुजेलले सहकारी संस्थाहरू वित्तीय अपचलन, कानुनले स्वीकृति नदिएका जोखिमपूर्ण क्षेत्रमा लगानी, कमजोर सुशासन र आन्तरिक नियन्त्रण प्रणालीका कारण गम्भीर समस्यामा परेको बताए। ७६१ वटै सरकारमा नियमनको भूमिका बाँडिँदा नियमन कमजोर बनेको उल्लेख गर्दै उनले क्षमता विकास नगर्दा समस्या झन जटिल बनेको बताए। सहकारी ऐन–२०७४ संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको र प्राधिकरणले आफ्नो कार्यादेशअनुसार काम अघि बढाएको जानकारी उनले दिए।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस शिखर गोष्ठीले सहकारी संघ–संस्थालाई सुशासनमा सञ्चालन गर्न सहयोग पुर्याउने बताए। सहकारी अभियान स्वनियमनका साथै ऐन र नियमको दायराभित्र रहेर सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। सहकारी क्षेत्रमा देखिएको समस्या स्वीकार गर्दै अध्यक्ष ढकालले राष्ट्र बैंक र सहकारी नियमन प्राधिकरणले सुधारका प्रयास थालेको जनाए। नेफ्स्कूनसँग आबद्ध संस्थाहरू दर्ता तथा अभिलेखीकरण प्रक्रियामा सहभागी हुन थालेको उल्लेख गर्दै उनले साकोस अभियानलाई व्यवस्थित र बलियो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
नेपालको सहकारी क्षेत्रमा देखिएका चुनौती, नियमन, दिगोपन र जोखिम व्यवस्थापनबारे गहन छलफल गर्न ‘साकोस शिखर गोष्ठी–२०८२’ आयोजना गरिएको हो। ‘सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ भन्ने मूल नारासहित आयोजित गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ। देशभरका सहकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ।





Comment