जेनजी आन्दोलन: २३ अर्बभन्दा बढी दाबी, हालसम्म ५ अर्ब मात्रै भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जेनजी आन्दोलन: २३ अर्बभन्दा बढी दाबी, हालसम्म ५ अर्ब मात्रै भुक्तानी



काठमाडौं । जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको हालसम्म २२ प्रतिशत मात्रै बीमा दाबी भुक्तानी देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकबाट भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुले हालसम्म कुल ३ हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

त्यसमध्ये हालसम्म बीमा कम्पनीहरुले अग्रिम भुक्तानीसमेत गरी करिब ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरेका छन्। यो हिसाबले कुल दाबी रकममध्ये कम्पनीहरुले हालसम्म २२.०९ प्रतिशतमात्रै भुक्तानी गरेको देखिन्छ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तंथ्यांकअनुसार कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको करिब १९ अर्ब २ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ २ हजार ३११ वटा बीमा दाबीको करिब ३ अर्ब ४७ करोड रुपैयाँमध्ये करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबीको करिब ५५ करोड ४७ लाख रुपैयाँमध्ये करिब ७ करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

अग्रिम भुक्तानीसहित करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई करिब ३ अर्ब २ करोड रुपैयाा अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कुल २ हजार ८६२ वटा पुनर्बीमा दाबीको रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक रहेको प्राधिकरणले जनाएको छ।

प्रकाशित : 18 December, 2025 10:58 am