काठमाडौं । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर युनाइटेड युके पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
रोजगारीका लागि युके लैजाने आश्वासन दिई लामो समयसम्म पीडितलाई झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा ठगीमा संलग्न व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्ने व्यक्ति लाल बहादुर बराइली (५० वर्ष) रहेका छन्। उनको स्थायी ठेगाना कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नम्बर १५ हो। उनी हाल युकेसँग सम्बन्धित रोजगारीको नाममा ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
बराइलीलाई २०८२ साल मंसिर १ गते काठमाडौं महानगरपालिका वडा नम्बर १२ बाट पक्राउ गरिएको हो। पीडितबाट ५२ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लागेको छ। यस घटनामा हालसम्म १ जना पीडित रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगी घटनाप्रति सतर्क रहन र कुनै पनि व्यक्ति वा संस्थालाई रकम बुझाउनुअघि वैदेशिक रोजगार विभागबाट आधिकारिक जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।





Comment