काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) उच्च दोहोरो अंकले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्म करिब पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणअनुसार चार महिनामा कुल ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४ प्रतिशतले बढी हो। गत वर्ष कात्तिक मसान्तसम्म ५ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्र रेमिट्यान्स आएको थियो।
महिनागत आधारमा हेर्दा कात्तिकमा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो भने भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड र साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।
अमेरिकी डलरमा हेर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले मात्र बढेको थियो। गत वर्षको कात्तिक मसान्तसम्म ३ अर्ब ८९ करोड ५९ लाख अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो।
यसैबीच, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ। चार महिनामा १ लाख ४५ हजार ९७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। यसमा संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका नयाँ श्रम स्वीकृति समावेश छन्।
त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको थियो।





Comment