काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रस्ट रिसिस्ट (आयात) कर्जामा जोखिम भार घटाएको छ। सोमबार बैंक तथा वित्तीय संस्थाहरूको लागि जारी एकीकृत निर्देशिका संशोधन गर्दै आयात कर्जाको जोखिम भार १२० प्रतिशतबाट १०० प्रतिशत बनाइएको हो।
कोभिड-१९ पछि आयातमा वृद्धि भएपछि आर्थिक वर्ष २०७८/७९ मा केन्द्रीय बैंकले आयात कर्जाको जोखिम भार १२० प्रतिशतमा पुर्याएको थियो। अब घटाएर पुन : १०० प्रतिशत गरिएको छ।
सार्वजनिक संस्थानको कर्जामा पनि नयाँ व्यवस्था लागू भएको छ। रेटिङ भएको कर्जामा अब रेटिङ एजेन्सीले देखाएको जोखिमअनुसार जोखिम भार निर्धारण गरिनेछ।
नयाँ नियम अनुसार अब ‘त्रिपल ए’ रेटिङ भएको कर्जामा ५० प्रतिशत जोखिम भार, ‘डबल ए प्लस’ देखि ‘डबल ए माइनस’ रेटिङमा ७० प्रतिशत, ‘ए प्लस’ देखि ‘ए माइनस’ रेटिङमा ८० प्रतिशत र कमजोर रेटिङ वा रेटिङ नभएको कर्जामा १०० प्रतिशत जोखिम भार गणना गर्नुपर्ने भएको छ।





Comment