काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बीमांकिक मूल्यांकनका आधारमा आफ्नो नयाँ बोनसदर सार्वजनिक गरेको छ। यस अनुसार विभिन्न बीमा योजनामा बीमितले बीमा अवधि र योजना अनुसार फरक–फरक दरमा बोनस पाउने भएका छन्।
कम्पनीले सावधिक जीवन बीमा (रेगुलर) मा प्रति हजार बीमाङ्कका लागि ३५ देखि ७० रुपैयाँसम्म बोनस निर्धारण गरेको छ। सावधिक जीवन बीमा (एकल प्रिमियम) मा भने न्यूनतम ३५ र अधिकतम ६५ रुपैयाँसम्मको बोनस दर लागू हुनेछ।
त्रिपल सावधिक र दम्पत्ति सावधिक जीवन बीमा योजनामा २० देखि ३० रुपैयाँको दर तोकिएको छ। त्यस्तै, सावधिक तथा आजीवन जीवन बीमामा ३५–७० रुपैयाँको बोनस उपलब्ध हुनेछ।
अग्रिम भुक्तानी योजनामा ३२–४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा १९–२१ रुपैयाँ र मुद्दति सुरक्षा (नियमित शुल्क) योजनामा सबै अवधिका लागि समान रूपमा २४ रुपैयाँ बोनस दिइनेछ। मुद्दति सुरक्षा (एकल शुल्क) मा एकै दरमा ५४ रुपैयाँ बोनस प्रदान गरिनेछ। साथै १५ वर्षे अग्रिम भुक्तानी योजनामा ४१ रुपैयाँ, २० वर्षे योजनामा ४५ रुपैयाँ र रूपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनामा ३० रुपैयाँको समान बोनस लागू हुनेछ।
सामूहिक सावधिक बीमामा सबै बीमा अवधिका लागि २० रुपैयाँ बोनस कायम गरिएको छ। अन्य योजनामा पनि अवधि र योजना अनुसार ३० देखि ७५ रुपैयाँसम्मको बोनस दर निर्धारण गरिएको कम्पनीले जनाएको छ। बाल सावधिकका दुई छुट्टाछुट्टै योजनामा क्रमशः २२–४५ रुपैयाँ र २०–३४ रुपैयाँको बोनस दिइनेछ।
कम्पनीका अनुसार यो बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि पूरा हुने भुक्तानी तथा चलिरहेको बीमा पोलिसीमा समेत लागू हुनेछ। साथै नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था स्वीकृत नहुँदासम्म यिनै दर कायम रहने स्पष्ट गरिएको छ।






Comment