ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अर्थ राजनीति

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणमा जाने भएपछि श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएपछि श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो। प्रधानमन्त्रीको वरियताक्रममा अर्थमन्त्री वाग्ले दोस्रो स्थानमा रहे पनि उनी पनि भ्रमण टोलीमा सहभागी हुने भएपछि श्रेष्ठले उक्त जिम्मेवारी पाएका हुन्।

प्रधानमन्त्री शाह ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारत भ्रमणमा जाँदैछन्। भ्रमणमा निजी क्षेत्रका ५२ सदस्यीय व्यवसायी टोलीसमेत आफ्नै खर्चमा सहभागी हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलीसमेत अर्पण गर्नेछन्।

प्रधानमन्त्री शाह मङ्सिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित : ६ मंसिर २०८३, आइतबार १७:२८ 22 November, 2026 5:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।