काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ ।
संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ ।
संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्त्रीको कार्यकालमा २०८१ चैत ८ गते पनि गरिएको थियो । तर व्यापक विरोधपछि सरकारले सो निर्णय फिर्ता लिन बाध्य भएको थियो । नेपालमा बेरोजगारी दर उच्च रहेको र वैदेशिक रोजगारीले देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब ३० प्रतिशत योगदान गरिरहेको परिस्थितिमा श्रमिकमाथि अतिरिक्त आर्थिक भार थोपर्नु अनुचित रहेको संघको दाबी छ ।
संघले वैदेशिक रोजगार क्षेत्रमा शुल्क वृद्धि गर्नुको सट्टा श्रमिकमैत्री नीतिहरू, सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा कोषमा योगदान सुनिश्चितता तथा विदेशी भूमिबाटै मताधिकार सुनिश्चिततामा ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।
राजनीतिक नेतृत्वविहीन अवस्थामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लक्ष्य गर्दै संघले मातहतका निकायहरूलाई शुल्क वृद्धि कार्यान्वयन गर्न जारी गरिएको परिपत्र ‘अनुचित, श्रमविरोधी र गरीब श्रमिकविरुद्धको कदम’ भएको टिप्पणी गरेको छ ।
संघले शुल्क वृद्धि तत्काल फिर्ता गरी पुरानै दर कायम गर्न तथा श्रम मन्त्रालयमा चाँडोभन्दा चाँडो राजनीतिक नेतृत्व नियुक्त गर्न सरकारसमक्ष माग समेत राखेको छ ।





Comment