काठमाडौँ। चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र किसान नेटबीच सोमबार औपचारिक रूपमा सहमति पत्रमा हस्ताक्षर भएको छ। सहकारीका सदस्यलाई सहज, किफायती र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित दुवै पक्षबीच यो सहकार्य अघि बढाइएको हो।
सहमति अनुसार चन्द्रागिरि साकोसका सदस्यले किसान नेटमार्फत कम लागतमा उच्च गुणस्तरको इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन्। साथै “ग्राहक पनि आफैं, मालिक पनि आफैं” भन्ने अवधारणाअनुसार प्रत्येक प्रयोगकर्ताले कम्पनीको इक्विटीमा समेत हिस्सा पाउने प्रावधान राखिएको चन्द्रागिरि साकोसले जनाएको छ।
यसका साथै कृषक र स्थानीय समुदायलाई लक्षित गरी विभिन्न डिजिटल तथा सेवा–केन्द्रित सुविधाहरू समेटिएको छ। सम्झौता लागू भएपछि चन्द्रागिरि साकोसका सदस्यले ई–शिक्षा, किसान स्वास्थ्य सेवा, किसान मार्ट, किसान मौसम सुचना, किसान बैंकिङ, किसान इन्भेन्टोरी, किसान इम्प्याक्ट लगायतका सेवाहरू पनि एकै थलोबाट प्राप्त गर्न सक्नेछन्।
चन्द्रागिरि साकोसको मुख्य कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
दुवै संस्थाले यो सहकार्यले ग्रामीण तथा कृषि–केंद्रित समुदायमा प्रविधि पहुँच, सेवा स्थायित्व र आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।





Comment