काठमाडौं। बाराको सिमरा क्षेत्र आज पनि कर्फ्यूको कडाइका साथ बन्दाजस्तै अवस्थामा रहेको छ। जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थलदेखि जीतपुरसम्मको संवेदनशील क्षेत्रमा दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरेको हो।
बुधबार जेनजी युवामाथि भएको कुटपिट प्रकरणमा दोषीमाथि कारबाहीको माग गर्दै आज पनि जेनजी समूह सडकमा उत्रिदै प्रदर्शन जारी राखेपछि प्रशासनले सुरक्षाको जोखिम बढेको निष्कर्ष निकालेको छ। जनधनको क्षति हुन नदिने र स्थिति थप तनावग्रस्त नबनोस् भन्ने उद्देश्यले प्रशासनले कठोर कदमस्वरूप कर्फ्यू लागू गरेको जनाएको छ।
विरगंज–पथलैया सडकखण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्ग दायाँ–बायाँ ५०० मिटर क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र पूरी रूपमा कर्फ्यू क्षेत्रको रूपमा निर्दिष्ट गरिएको छ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कुटनीतिक नियोगका सवारी तथा हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षा निकायले आवश्यक समन्वय गरी आवागमनमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने जानकारी भएपछि जेनजी युवाहरूले विरोधस्वरूप सडकमा अवरोध प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको थियो। त्यस क्रममा जेनजी कार्यकर्ता र एमाले समर्थकबीच झडपसहित हाताहातीको अवस्था समेत सिर्जना भएको थियो। सुरक्षा संवेदनशीलता उच्च रहेकाले अहिले पनि सिमरा क्षेत्रमा सुरक्षा बलको बाक्लो उपस्थिति देखिएको छ।





Comment