काठमाडौं । कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ का उत्कृष्ट करदाताहरूको नाम सार्वजनिक गरेको छ। यस वर्ष सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण चयन भएको हो।
बैंक, वित्तीय संस्था तथा बीमा कारोबार समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड उत्कृष्ट करदाता बनेको छ। एकलौटी फर्म समूहमा थर्ड आई इन्टरनेशनलले उच्चतम कर दाखिला गरेको विभागले जनाएको छ। वस्तु निर्यात कारोबार गर्ने कम्पनीमध्ये डाबर नेपाल प्रालि शीर्ष करदाताका रूपमा उभिएको छ भने सूचना प्रविधि सेवा निर्यात समूहमा भेरिक्स नेपाल प्रालि उत्कृष्ट करदाता घोषणा गरिएको छ। कृषि तथा पशुपंक्षीजन्य उद्योग क्षेत्रमा पोषक ब्रिडर फार्म प्रालिले सबैभन्दा धेरै कर योगदान गरेको छ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नोबे हस्पिटल लिमिटेडले उच्चतम कर तिरेको विभागले जनाएको छ। पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेडले उत्कृष्ट करदाताको सूचीमा शीर्ष स्थान सुरक्षित गरेको छ। बस्तु व्यापार क्षेत्रमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ।
वार्षिक ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाता घोषित भएको छ। उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी प्रालि रेमिट्यान्स कारोबारतर्फ आईएमई लिमिटेड तथा व्यक्तिगत करदातामध्ये राज बहादुर शाह यस वर्षका सर्वाधिक करदाता बनेका छन्। २०७६ साउनदेखि २०८२ असार मसान्तसम्म नियमित विवरण पेश गर्दै कर तिर्ने करदातामध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा धेरै मु.अ. कर तिर्ने संस्थाका रूपमा सूचीकृत भएको छ।
वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसाय समूहमा भीएफ सर्भिसेज (मोरिसस) प्रालि उत्कृष्ट करदाता बनेको छ भने विशेष उद्योग समूहमा यूनिलिभर नेपाल लिमिटेडले यस वर्ष उत्कृष्ट करदाताको मान पाएको छ। विभागका अनुसार कर प्रणालीमा करदाताहरूको निरन्तर सहभागिताले कर प्रशासन थप पारदर्शी र प्रभावकारी बन्दै गएको छ।





Comment