काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय नतिजा सार्वजनिक गरेको छ। प्रकाशित अपरिष्कृत विवरणअनुसार कम्पनीको नाफा, बीमाशुल्क आम्दानी र प्रतिशेयर आम्दानी सबै सूचक सकारात्मक दिशामा देखिएका छन्।
समीक्षा अवधिसम्म कम्पनीले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको १४ करोड ५० लाख रुपैयाँभन्दा ९.१७ प्रतिशतले बढी हो। नाफाको यो वृद्धि कम्पनीको स्थिर बीमा व्यवसाय विस्तार र राजस्व वृद्धिसँग जोडिएको मानिएको छ।
आर्थिक वर्षको पहिलो तीन महिनामा आइएमई लाइफको खुद आर्जित बीमाशुल्क ३१.९६ प्रतिशतले वृद्धि भएको छ। कुल आम्दानी २५.३३ प्रतिशतले बढेको छ भने यस अवधिमा कम्पनीले गरेको कुल दाबी भुक्तानी पनि २८.६१ प्रतिशतले बढेको छ। त्यसैगरी, सञ्चालन तथा अन्य खर्च २६.९६ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ।
नाफाको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ। सोही अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ। कम्पनीको मूल्य–आम्दानी अनुपात भने ३३.५६ गुणा रहेको विवरणमा उल्लेख छ।
आइएमई लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। यससँगै कम्पनीले शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटी खातामा २० करोड ५३ लाख रुपैयाँ संचय गरेको छ।





Comment