जनरल फाइनान्सले एकसाथ गर्यो पाँच बर्षको साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनरल फाइनान्सले एकसाथ गर्यो पाँच बर्षको साधारणसभा



काठमाडौं १० जेठ।जनरल फाइनान्स लिमिटेडले चुक्तापूँजी बढाउन एक सय पचहत्तर प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गर्दे पाँच आर्थिक बर्षको साधारणसभा एकसाथ सम्पन्न गरेको छ । बुधबार फाइनान्सले १६ औ, १७ औ, १८ औ, १९ औ र २० औ साधारण सभा सम्पन्न गरेको हो ।

साधारणसभाले हाल कायम चूक्ता पूँजीको एक बराबर एक दशमलव सात पाँच अर्थात एक सय पचहत्तर प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल फाइनान्सको चूक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ भने हकप्रद पश्चात ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने छ ।

त्यस्तै साधारण सभाले अन्य कुनै बैंक तथा वित्तिय संस्थाहरुमा गाभ्ने÷गाभिने तथा एक्विजिसन गर्ने प्रक्रिया अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थागत सुशासन कायम नभएर वित्तीय संकटमा परेपछि फाइनान्सलाई नेपाल राष्ट्र बैंकले तीन बर्षअघि समस्याग्रस्त घोषणा गरेको थियो । नयाँ लगानीकर्ताले फाइनान्सलाई लिएर सुधार गर्दे लगेपछि राष्ट्र बैकले गत मंसिर २७ गते समस्याग्रस्तको सूचीबाट हटाएको थियो ।

कतार स्थित गैरआवसीय नेपालीहरुले फाइनान्स किनेर संचालन गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले फाइनान्सलाई केही महिना अघि मात्र समस्याग्रस्त सूचीबाट हटाएको थियो ।

चालु आर्थिकको चैत मसान्त सम्ममा फाइनान्सले तीन करोड ८१ लाख रुपैयाँ रुपैयाँ निक्षेप संकलन गरि १९ करोड रुपेयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीमा सर्वसाधारणको ४० प्रतिशत शेयर लगानी छ।

प्रकाशित : १० जेष्ठ २०७४, बुधबार ०९:१६