देशभरका आगजनी र तोडफोडबाट भाटभटेनीलाई १० अर्बभन्दा बढीको क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

देशभरका आगजनी र तोडफोडबाट भाटभटेनीलाई १० अर्बभन्दा बढीको क्षति



काठमाडौं– देशभर भदौ २४ गते भएको श्रृंखलाबद्ध आगजनी र तोडफोडका घटनाबाट भाटभटेनी सुपरस्टोरले करिब १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति व्यहोर्नु परेको छ।

कम्पनीका अनुसार मुलुकभर सञ्चालनमा रहेका २० वटा स्टोरमध्ये १२ वटा स्टोर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने बाँकी नौ वटा स्टोरमा आंशिक क्षति पुगेको छ। बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा भवनमा आगजनी हुँदा त्यसभित्र रहेका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ।

कम्पनीले दिएको विवरणअनुसार भवन, स्केलेटर, लिफ्ट, फ्रिज लगायतका महँगा उपकरण पनि जलेर खरानी भएका छन्। साथै नौ वटा स्टोरमा तोडफोड र लुटपाटका घटनाहरू भएका छन्, जसबाट करोडौंको नोक्सानी भएको कम्पनीको भनाइ छ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा कम्पनीले भोगेको क्षतिको विस्तृत विवरण प्रस्तुत गरेका छन्। गुरुङले १२ वटा स्टोर पूर्ण रूपमा नष्ट भएको र बाँकी स्टोरमा आंशिक क्षति पुगेको जानकारी दिँदै भने, “हामीले १० हजारभन्दा बढी कर्मचारीलाई विदा नगरी काममै राख्ने निर्णय गरेका छौं। दशैं बोनससमेत नियमित रूपमा उपलब्ध गराइनेछ।”

उनले राज्यले चाहेमा आफूले आर्जन गरेको आधा सम्पत्ति दिन तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले भाटभटेनीमाथि लक्षित आक्रमण भएको गुनासो गर्दै यस्तो घटना अनुचित र दुर्भाग्यपूर्ण रहेको बताए।

कम्पनीले सार्वजनिक गरेको क्षतिको विवरण अनुसार:

  • १९ वटा स्टोरमा मात्रै: ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको भौतिक क्षति
  • आगलागीबाट नष्ट सामग्री: ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ
  • लुटपाट र तोडफोडबाट क्षति: ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ

समग्रमा कम्पनीले भोगेको कुल अनुमानित क्षति १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ पुगेको जनाएको छ।

प्रकाशित : 23 September, 2025 8:46 pm