रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान जाने घटनापछि रास्वपाले यस्तो कदम चालेको हो।

रास्वपाले मंगलबार जारी विज्ञप्तिमा निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भइसकेको निष्कर्ष निकालेको छ।

पाँच बुँदे प्रस्ताव पनि विज्ञप्तिमा समावेश गरिएको छ :
१. प्रधानमन्त्रीको तत्काल राजीनामा,
२. निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,
३. सर्वपक्षीय नागरिक सरकार गठन,
४. प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा राख्ने र दोषीमाथि कडा कारबाही,
५. संविधान संशोधनको प्रक्रिया आरम्भ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन्।” साथै आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरिएको छ।

संसदीय दलको कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायत २० सांसदको नाम उल्लेख गरिएको छ।

रास्वपाले संघीय संसदले वैधता गुमाएको निष्कर्ष निकाल्दै आगामी राजनीतिक निकासका लागि अन्तरिम नागरिक सरकार गठन गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित : २४ भदौ २०८२, मंगलबार १४:५४ 9 September, 2025 2:54 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।