काठमाडौँ। जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निजी विद्यालयहरूमा दुई दिन शोक बिदा दिने निर्णय गरिएको छ। निजी विद्यालयसँग सम्बन्धित विभिन्न सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भाद्र २४ र २५ गते (आज र भोलि) शैक्षिक संस्थानहरू बन्द गर्ने जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ कि आन्दोलनका क्रममा धेरै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेकोले शैक्षिक क्षेत्र मात्र नभई सम्पूर्ण नेपाली समाज नै स्तब्ध भएको छ। साथै, विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको उल्लेख गर्दै, दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
सङ्गठनहरूले उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, यो पीडादायी क्षणमा सम्पूर्ण निजी विद्यालयमा दुई दिनका लागि शैक्षिक गतिविधि स्थगित गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन्।





Comment