ललितपुर – नेपालमा डिजिटल भुक्तानीलाई थप सहज र सुरक्षित बनाउन सिटीपे डिजिटल वालेट अब फोनेपे नेटवर्कमा समावेश भएको छ। फोनेपेले सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत भएको दशौँ वालेटका रूपमा स्वागत गरेको हो।
यससँगै सिटीपे वालेट प्रयोगकर्ताले देशभरका १.७ मिलियनभन्दा बढी व्यापारी आउटलेटहरूमा फोनेपेको अन्तरसञ्चालित QR नेटवर्कमार्फत भुक्तानी गर्न सक्नेछन्।
फोनेपेले हालसम्म ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई आफ्नो नेटवर्कमा जोडिसकेको छ। वालेट साझेदारको संख्यामा भएको वृद्धिले लाखौं प्रयोगकर्तालाई तत्काल र सुरक्षित डिजिटल कारोबारमा सुविधा पुगेको कम्पनीको दाबी छ।
फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमारले सिटीपे समावेश हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।
उनले भने, “प्रत्येक नयाँ एकीकरणले हाम्रो नेटवर्कलाई बलियो र नेपालका जनताको लागि अझ मूल्यवान् बनाउँछ। उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास दिलाउनु हो।”
सिटीपेका सिइओ बिनय रेग्मीले यो साझेदारीले लाखौं रेमिट्यान्स लाभार्थीलाई लाभ पुर्याउने बताए।
उनका अनुसार, “सिटीपे र फोनेपे सँगै प्रयोगकर्ता र व्यापारीलाई सहज, सुरक्षित र तत्काल कारोबार गर्न सक्षम बनाउनेछन्।”
विशेष अभियान
साझेदारी घोषणा संगै सिटीपेले ग्राहकलाई लक्षित पर्व–अभियान सुरु गरेको छ।
२०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सञ्चालन हुने अभियानमा फोनेपे नेटवर्कमार्फत सिटीपे वालेट प्रयोग गरेर गरिएको प्रत्येक QR कारोबार स्वतः भाग्यशाली चिट्ठामा पर्नेछ।
प्रत्येक महिनामा दुई जना विजेताले Samsung टेलिभिजन प्राप्त गर्नेछन्।
त्यस्तै, रु. ५०० भन्दा माथिको प्रत्येक QR कारोबारमा प्रयोगकर्ताले २० रिवार्ड पोइन्ट पाउनेछन्, जसलाई नगद वा वस्तुमा रूपान्तरण गर्न सकिनेछ।
डिजिटल भुक्तानी प्रवर्द्धन
फोनेपे र सिटीपेबीचको सहकार्यले नगद रहित कारोबारलाई विस्तार गर्ने, वित्तीय समावेशीकरणलाई बलियो बनाउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। नेपाल डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको सन्दर्भमा यस्तो साझेदारी महत्त्वपूर्ण ठहरिएको छ।





Comment