जीवन बीमा क्षेत्रमा उत्साहजनक सुरुवात, एक महिनामै साढे १९ अर्ब प्रिमियम संकलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा क्षेत्रमा उत्साहजनक सुरुवात, एक महिनामै साढे १९ अर्ब प्रिमियम संकलन



काठमाडौं। नेपालको बीमा बजारमा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनामै उल्लेख्य प्रगति गरेका छन्। बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिनामै २ लाख ८४ हजार १७६ वटा बीमा पोलिसी बिक्री गरी १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन्।

यो व्यवसाय अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ६ प्रतिशत मात्रै बढी हो। अघिल्लो आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए।

यस अवधिमा सबैभन्दा बढी संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स भएको छ। कम्पनीले करिब ६ अर्ब १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेर बजारमा आफ्नो अग्रता कायम गरेको छ। त्यसपछि नेशनल लाइफ २ अर्ब ४१ करोड रुपैयाँ संकलन गर्दै दोस्रो स्थानमा रह्यो भने एलआइसी नेपाल २ अर्ब ३ करोड रुपैयाँ संकलनसहित तेस्रो स्थानमा देखियो। त्यसैगरी, हिमालयन लाइफले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

विशेषगरी नेपाल लाइफ, नेशनल लाइफ, एलआइसी नेपाल र हिमालयन लाइफ जस्ता ठूला कम्पनीहरूले देखाएको प्रदर्शनले बीमा बजार अझै प्रतिस्पर्धात्मक र स्थिर बन्दै गएको देखिन्छ।

यसैगरी, सूर्यज्योति लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। एशियन लाइफले ९४ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।सिटिजन लाइफले ८५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। आइएमई लाइफले ६७ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। प्रभु महालक्ष्मी लाइफले ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। मेट लाइफले ५३ करोड ९९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित : 29 August, 2025 1:17 pm