काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेपनि अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको बताएका छन्।
राजधानीमा आयाेजित एक कार्यक्रममा बाेल्दै गुरूङले भने-बैंकले ऋण पोर्टफोलियोमा विविधिकरणलाई मुख्य रणनीति बनाएको छ। “कृषि हाम्रो पहिलो प्राथमिकता हो, तर बैंक केवल एउटा क्षेत्रमा मात्रै सीमित रहन सक्दैन,” उनले भने। यही सन्दर्भमा अटोमोबाइल्स क्षेत्रलाई समेत आकर्षक लगानीको सम्भावना मान्दै बैंकले पछिल्लो समय कर्जा प्रवाह बढाएको उनको भनाइ छ।
गुरुङका अनुसार गत वर्षको नाडा अटो शोमा बैंकले स्टल राखेर सहभागिता जनाएको थियो। यसले बैंकले अटोमोबाइल्स क्षेत्रमा देखाएको चासोलाई झल्काउँछ। उनले अटोमोबाइल्स क्षेत्रमा प्रवाह भएको कर्जा अपेक्षाकृत सुरक्षित देखिएको उल्लेख गरे। “अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या छ, खराब कर्जा बढ्ने गरेको छ। तर अटोमोबाइल्स क्षेत्रमा खराब कर्जा कम छ,” गुरुङले भने।
उनले बैंकले सवारीसाधनमा कर्जा प्रवाह गर्दा ग्राहकको सोच, गाडीको ब्रान्ड र प्रयोगको उद्देश्यलाई मूल्यांकन गर्ने गरेको जानकारी दिए। “व्यवसायिक गाडीमा लगानी गर्दा बढी चुनौती हुन्छ। निजी गाडीमा कर्जा दिने क्रममा भने व्यक्तिको सम्पत्ति समेत धितो राख्ने गरेका छौं,” उनले स्पष्ट पारे।
यससँगै गुरुङले ‘लोन टु भ्यालु रेसियो’ (Loan to Value Ratio) सम्बन्धमा पनि प्रष्ट पारे। उनका अनुसार यो अनुपात देशअनुसार फरक हुन्छ। त्यस्तै व्यावसायिक गाडी र निजी गाडीमा पनि छुट्टै अनुपात लागू हुने गर्छ। यसरी ऋण वितरण गर्दा जोखिम न्यूनिकरणमा मद्दत पुग्ने उनको धारणा छ।
कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानीलाई निरन्तरता दिँदै अन्य क्षेत्रमा पनि विस्तार गर्ने रणनीति लिएको छ। यसले बैंकलाई सुरक्षित कर्जा प्रवाह र जोखिम व्यवस्थापनमा सन्तुलन कायम गर्न मद्दत गर्ने विश्वास गुरुङले व्यक्त गरे।
“कृषि हाम्रो पहिचान हो, तर विविधिकरण नै दिगो बैंकिङको आधार हो,” सीईओ गुरुङको भनाइ छ।





Comment