भदौदेखि लागू हुने वाणिज्य बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भदौदेखि लागू हुने वाणिज्य बैंकहरुकाे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?



काठमाडौं । भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन।


साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत ब्याजदर साउनको ४.११ प्रतिशतबाट घटेर भदौमा ३.९६ प्रतिशत पुगेको छ।


२० वाणिज्य बैंकमध्ये ८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाएका छन् भने प्रभु बैंकले मात्र दर बढाएको छ। बाँकी बैंकहरुको दर स्थिर छ।

सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। बैंकले साउन महिनामा व्यक्तिगत मुद्दतिमा ६.२६ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा ५.१३ प्रतिशतमा झारेको छ, जसअनुसार १.१३ प्रतिशत अंकले कटौती भएको हो।

यता प्रभु बैंकले भने ब्याजदर बढाएकाे छ। प्रभुले साउनमा ४.२५ प्रतिशत ब्याज दिइरहेकोमा भदौमा १.१ प्रतिशत बढाएर ५.३५ प्रतिशत पुर्याएको छ। साउनमा सबैभन्दा कम ब्याज दिने प्रभु बैंक भदौमा मध्यम स्तरमा पुगेको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ। बैंकले अधिकतम ६.२५ प्रतिशत ब्याज दिनेछ। यो दर साउन महिनासँग उस्तै छ। यस विपरीत लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दतिमा सबैभन्दा कम ५ प्रतिशत ब्याज दिनेछ।

संस्थागत मुद्दति निक्षेपमा ७ बैंकले ब्याजदर घटाएका छन्। यो वर्गमा औसत ब्याजदर ०.१५ प्रतिशत अंकले घटेको छ। कुनै पनि बैंकले संस्थागत दर बढाएको छैन।

प्रकाशित : 16 August, 2025 3:06 pm