इम्पेरमेन्ट चार्ज दोब्बर बढ्दा नेपाल एसबिआई बैंकको नाफा र लाभांश क्षमतामा दबाब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

इम्पेरमेन्ट चार्ज दोब्बर बढ्दा नेपाल एसबिआई बैंकको नाफा र लाभांश क्षमतामा दबाब



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्म नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिभन्दा करिब १० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको ब्याज आम्दानीमा सानो सुधार देखिए पनि इम्पेरमेन्ट चार्ज बढेसँगै नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड २३ लाख पुगेको छ । साथै, खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशत बढेर १ अर्ब २१ करोड ६१ लाख रुपैंया पुगेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँमा पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

१० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ८१ पैसा घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ।

प्रकाशित : 14 August, 2025 12:19 pm