काठमाडौँ । डियरवाक लर्निङ सेन्टरले ३५०० भन्दा बढी निशुल्क अनलाइन कक्षाहरू उपलब्ध गराउने डीएलसी एपको शुभारम्भ गरेको छ। काठमाडौँको सिफलस्थित डियरवाक कम्प्लेक्सको सगरमाथा हलमा आयोजित विशेष समारोहबीच उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो।
यसमा डियरवाक लर्निङ सेन्टरले विगत लामो समयदेखि आफ्नो वेबसाइट dlc.dwit.edu.np मार्फत निशुल्क उपलब्ध गराउँदै आएको कक्षा ४ देखि ११ सम्मका नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक विषयका ३५०० भन्दा बढी अनलाइन कक्षाहरू समावेश छन्। पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा स्वीकृत पाठ्यक्रममा आधारित ‘फ्लिप्ड’ भिडियो कक्षाहरूलाई कक्षागत, विषयगत तथा पाठगत रूपमा व्यवस्थित गरी विद्यार्थी तथा शिक्षकहरूले सजिलै खोज्न र सिक्न मिल्ने सुविधा यसमा छ।
डियरवाक ग्रुप लिमिटेडका अध्यक्ष हितेश कार्कीले हालसम्मका भिडियो कक्षाबाट देशभरका ५० लाखभन्दा बढी विद्यार्थी र शिक्षक लाभान्वित भइसकेको बताए। उनका अनुसार निकट भविष्यमै कक्षा १२ तथा स्नातक तहका भिडियो पनि निर्माण गरी निशुल्क उपलब्ध गराइनेछ।
एडुटेक नेपालका अशोक डल्लीले हालसम्म कम्प्युटर ल्याब निर्माण गरेर हस्तान्तरण गरिएका ३०० भन्दा बढी सामुदायिक विद्यालयका २ लाखभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूले यी भिडियो कक्षाबाट लाभ लिइरहेको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि, खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकी–तनहुँका पूर्व प्रधानाध्यापक केशवराज घिमिरेले कोरोना महामारीको समयमा ‘फ्लिप्ड क्लास’ले पुर्याएको योगदानको प्रशंसा गर्दै, आफूले स्वेच्छिक रूपमा सयौँ पालिका र विद्यालयमा यसबारे तालिम प्रदान गरेको अनुभव सुनाए।
शुभारम्भपश्चात आयोजित पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नहरूको जवाफ डियरवाक धादिङ स्कुलका प्रिन्सिपल निर्मलकुमार पौडेल, फ्लिप्ड क्लास रेकर्डिङ संयोजक युक्ता वर्मा र कन्टेन्ट आर्किटेक्ट आसरा श्रेष्ठले दिएका थिए।





Comment