काठमाडौं । बीमा बजारमा निर्जीवन बीमकहरूको कारोबार गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा बढेको देखिएको छ। गत आर्थिक वर्षमा निर्जीवन बीमकहरूले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँको कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकहरूले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गर्दै सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन्।
अघिल्लो वर्ष २०८०र८१ मा कम्पनीहरूले २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा कारोबार ६.७७ प्रतिशतले बढेको हो। जुन बीमा क्षेत्रका लागि सकारात्मक संकेत हो।
समीक्षा अवधिमा १४ मध्ये १२ कम्पनीले कारोबार वृद्धि गर्न सफल भए भने २ कम्पनीको कारोबारमा गिरावट आयो। बजारमा बीमाशुल्कको परिमाणका आधारमा शिखर इन्स्योरेन्स अग्रणी रह्यो भने वृद्धिदरको हिसाबले नेपाल इन्स्योरेन्स सबैभन्दा अगाडि देखियो।
शिखर इन्स्योरेन्सले समीक्षा अवधिमा ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको ५ अर्ब ४७ करोड २ लाख रुपैयाँको तुलनामा यो ५.९२ प्रतिशतले वृद्धि हो।
दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रह्यो, जसले ५ अर्ब २० लाख रुपैयाँ कारोबार गर्यो। अघिल्लो वर्षको ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँभन्दा ४.४७ प्रतिशत वृद्धि हो।
तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कारोबार गर्यो । जुन अघिल्लो वर्षको ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँभन्दा ३.१९ प्रतिशत बढी हो।
त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ कारोबार गरेका छन्। यी सबैको कारोबार अघिल्लो वर्षको तुलनामा बढेको छ।
यस्तै, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँको कारोबार गरेका छन्। यी सबैको कारोबार पनि वृद्धि भएको छ।
तर राष्ट्रिय बीमा कम्पनीको कारोबार अघिल्लो वर्षको तुलनामा घट्दै १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँमा झरेको छ। नेसनल इन्स्योरेन्सको कारोबार पनि घटेर १ अर्ब ६ करोड १६ लाख रुपैयाँमा पुगेको छ।





Comment