सिद्धार्थ बैंकको मुनाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा २२० प्रतिशतको छलाङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको मुनाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा २२० प्रतिशतको छलाङ



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।सार्वजनिक विवरणअनुसार बैंकले यस अवधिमा ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १०.२४ प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ८ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकको वितरणयोग्ण्य मुनाफा १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२०.९७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो। यस्तै बैंकको लाभांश क्षमता पनि ४.१२ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ ।

बैंकले अघिल्लो वर्ष ४ अर्ब ४८ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएकोमा गत वर्षमा यस्तो नाफा बढेर झण्डै ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। बैंकको ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न मद्दत पुगेको देखिन्छ। त्यसैगरी

ब्याज आम्दानीतर्फ हेर्दा बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ७ अर्ब ९३ करोड रुपैयाँको तुलनामा ६.४३ प्रतिशतले बढी हो। बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

निक्षेप संकलन र कर्जा प्रवाह पनि उल्लेख्य रुपमा बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा दुबैमा वृद्धि देखिएको छ। तर, खराब कर्जा अनुपात भने केही बढेको छ। अघिल्लो वर्ष २.१७६ प्रतिशत रहेको एनपीएल चालु वर्षमा २.६२ प्रतिशत पुगेको छ।

अन्त्यमा, बैंकको प्रतिशेयर आम्दानी २४.१० रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष २१.८६ रुपैयाँ थियो। पीई रेसियो १५.९३ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ २१९.९७ रुपैयाँ कायम भएको छ।

प्रकाशित : 8 August, 2025 11:37 am