काठमाडौं । नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको यो एक्स्पो देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित भएको छ।
अर्थमन्त्रीको प्रतिबद्धता
एक्स्पोको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि निजी क्षेत्रले माग्दै आएको नीतिगत स्थायित्वलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे। उनले अनावश्यक नीतिगत फेरबदल नगर्ने प्रतिवद्धता जनाउँदै भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रदर्शनी हल तीन वर्षभित्र निर्माण गर्ने घोषणा गरे।
उनले भने, “यो केवल बजेटमा उल्लेख गरिएको कुरा मात्र होइन, यो कार्यान्वयन हुने कुरा हो। ढिलोमा पनि तीन वर्षभित्र नयाँ प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गर्नेछ।”
पूर्वाधार र लगानी वातावरणमा जोड
अर्थमन्त्री पौडेलले पूर्वाधार विकासलाई सरकारको शीर्ष प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएका छन्।
साथै, हालैको बजेट निजी क्षेत्रसँगको बृहत् छलफलपछि ल्याइएको भन्दै उनले यसले लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्य बोकेको बताए।
अटोमोबाइल क्षेत्रको योगदान
नाइमा अध्यक्ष रितुसिंह वैद्यले अटोमोबाइल उद्योगले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानबारे प्रकाश पारिन्।
उनका अनुसार यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको छ र कुल गार्हस्थ्य उत्पादन (GDP) मा ७.१३ प्रतिशत योगदान पुर्याएको छ। तर उनले नीतिगत अस्थिरता र आकस्मिक निर्णयहरूले लगानी वातावरणलाई कमजोर पारेको भन्दै सरकारसँग नीतिगत स्थायित्व सुनिश्चित गर्न जोडदार माग गरिन्।
वैद्यका अनुसार, “नाइमा केवल एउटा संस्था मात्र होइन, यो ‘मुभमेन्ट’ हो, जसले नेपालको मोबिलिटी इकोसिस्टमलाई बलियो बनाउने लक्ष्य राखेको छ।”
प्रदर्शनीका आकर्षण र कार्यक्रमहरू
एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।
साथै, ‘मोबिलिटी : हिजो, आज, भोलि’, ‘वर्कफोर्स डेभलपमेन्ट’ र ‘सेफ मोबिलिटी’ जस्ता विषयमा विशेषज्ञहरूको सहभागितामा प्यानल छलफल हुने नाइमा जनाएको छ।
नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा गरेको छ।
उद्योगलाई गति दिने अपेक्षा
आयोजकका अनुसार, यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको सम्पूर्ण मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने महत्वपूर्ण मञ्च हो।
सरकारको सकारात्मक प्रतिबद्धता र निजी क्षेत्रको उत्साहसँगै अटोमोबाइल उद्योगले आगामी दिनमा अझ गतिशील रूप लिने अपेक्षा गरिएको छ।





Comment