बंगलादेशी बहुराष्ट्रिय कम्पनीले काठमाडौंपछि सिमरामा थप्यो उद्योग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बंगलादेशी बहुराष्ट्रिय कम्पनीले काठमाडौंपछि सिमरामा थप्यो उद्योग



वीरगंज २८ वैशाख। बङ्गलादेशी बहुराष्ट्रिय कम्पनी प्रान आरएफएलले काठमाडौं पछि बाराको सिमरामा नयाँ उद्योग स्थापना गरेको छ।

हिमाड्री फुड्स प्राली नामको कम्पनी स्थापना गरि प्रानले नेपालमा तीन बर्ष अघि पहिलो उद्योग खोलेको थियो। काठमाडौं मुलपानीमा रहेको उद्योगबाट कम्पनी पोट्याटो क्र्याकर, कुरकुरे, चिप्स लगायत ‘ड्राइ फुड’ उत्पादन गर्दै आएको छ।

चार महिना अघि वीरगंज –पथलैया करिडोरमा सुरु उद्योगबाट कम्पनीले एक रुपैयाँमा पाइने क्यान्डी, चकलेट, चुर्इगम, ललीपप लगायतको उत्पादन सुरु गरेको हो। त्यसका लागि कम्पनीले सिमरा उपमहानगरपालिका स्थित अशोक स्टील नजिक एउटा पुरानो उद्योग भाडामा लिएको छ।
पछिल्लो समय नेपालमा प्रान ब्राण्डका उत्पादनको माग बढ्न थालेपछि लगानी विस्तार गरेको कम्पनीका मार्केटिड्ड म्यानेजर शशिम लामाले जानकारी दिए। पहिले प्रानका उत्पादन बङ्गलादेशबाट नेपाल आउँथे। नेपाली उपभोक्ताले रुचाउन थालेपछि कम्पनीले यहाँ उद्योग स्थापना गरेको थियो। अहिले पनि कम्पनीको लिची जुस बंगलादेशबाटै आयात हुने गरेको छ।
सिमराको उद्योगबाट कम्पनीले लिची र आँप फ्लेवरमा चकलेट, चुर्इगम, ललीपप लगायतको उत्पादन गर्दै आएको छ। नेपालमा सानो लगानीबाट व्यवसाय सुरु गरेको र बजार बढ्दै जाँदा लगानी विस्तार गरेको लामाको भनाइ छ।
आगामी दिनमा जुस लगायत अन्य पेयको पनि उत्पादन थाल्ने कम्पनीको तयारी छ। कम्पनीका काठमाडौं र सिमरा उद्योगमा गरि दुर्इ सय जनाले रोजगारी पाएका छन्। वीरगंज-पथलैया कोरिडोरमा अर्को बहुराष्ट्रिय कम्पनीको उद्योग थपिएको भन्दै स्थानीय व्यवसायीले समेत खुसी व्यक्त गरेका छन्।
प्रानको मूख्यालय बङ्गलादेशको ढाकामा छ भने चीन, मलेसिया, दुबई, भारतलगायत मुलुकमा उद्योग स्थापना गरेको छ।

प्रकाशित : २८ बैशाख २०७४, बिहीबार ०८:०३