काठमाडौं । ऊर्जा र औद्योगिक क्षेत्रको विकासमा सक्रिय एसियन ब्याट्रीज लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। कम्पनीले १३ लाख कित्ता शेयर, अर्थात् रु. १३ करोड बराबरको पूँजी सार्वजनिक गर्न लागेको हो।
शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा हिमालयन क्यापिटल लिमिटेडलाई दिइएको छ। यस सम्बन्धमा दुवै कम्पनीबीच २०८२ साल असार ३१ गते औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र एसियन ब्याट्रीजका अध्यक्ष सुरेश लोहनीले हस्ताक्षर गरेका थिए।
उद्योग विस्तारतर्फको पाइला
पूर्ण रूपमा नेपाली स्वामित्वमा रहेको एसियन ब्याट्रीज लिमिटेडले सन् २०१३ देखि लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ। कम्पनीको उत्पादन केन्द्र विराटनगर, बुढीगंगा गाउँपालिका–४ मा रहेको छ भने केन्द्रीय कार्यालय ललितपुर, सानेपामा अवस्थित छ।
कम्पनीको जारी पूँजी रु. ६५ करोड रहेकोमा त्यसको २० प्रतिशत हिस्सा सर्वसाधारणमा जारी गर्न लागिएको हो। यसले कम्पनीलाई थप पुँजी संकलन गरी उत्पादन क्षमता विस्तार र सेवा सञ्जाल बिस्तार गर्न सघाउनेछ।
भरोसायोग्य नेपाली उत्पादन
एसियन ब्याट्रीजले सौर्य ऊर्जा प्रणाली, इनभर्टर, सवारी साधन र ई–रिक्सा आदिमा प्रयोग हुने विभिन्न प्रकारका गुणस्तरीय लिड–एसिड ब्याट्रीहरू उत्पादन गर्दै आएको छ। कम्पनीले ब्याट्रीमा आवश्यक पर्ने डिस्टिल्ड डी.एम. पानी पनि आफ्नै संयन्त्रबाट उत्पादन गर्छ।
कम्पनीको दावी अनुसार, उसका उत्पादनहरू गुणस्तरमा अब्बल, मूल्यमा सुलभ र प्रयोगमा सरल छन्। यसले ग्राहकको पूँजीगत र सञ्चालन खर्चमा बचत गर्न मद्दत पुर्याउनेछ।
भविष्यको लक्ष्य
एसियन ब्याट्रीजले निकट भविष्यमै ‘नेपालकै अग्रणी पावर सोलुसन ब्रान्ड’ बन्ने लक्ष्य लिएको छ। हाल कम्पनीले देशका प्रमुख स्थानहरूमा ८ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। आईपीओ निष्काशनपछि कम्पनीको व्यवसायिक क्षमतामा थप वृद्धि हुने विश्वास गरिएको छ।





Comment