रसुवाको विपत्तिप्रति नाइमाको समवेदना, रसुवागढी नाका अवरुद्ध हुँदा आपूर्ति प्रणालीमा संकटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

रसुवाको विपत्तिप्रति नाइमाको समवेदना, रसुवागढी नाका अवरुद्ध हुँदा आपूर्ति प्रणालीमा संकटमा



काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा)ले रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति समवेदना प्रकट गरेको छ।

संघका अध्यक्ष ऋतु सिंह वैद्यले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो विपत्तिले धेरै परिवारको जीवन, घर, व्यवसाय र आशा एकैचोटि बगाएको छ। पीडितहरूप्रति हामी गहिरो समवेदना प्रकट गर्छौं र यो कठिन घडीमा उनीहरूलाई शक्ति, धैर्य र पुनःस्थापनाको आशा मिलोस् भन्ने कामना गर्दछौं।’

रसुवा जिल्लाबाट चीनसँगको मुख्य नाका रसुवागढी सम्पर्कविहीन बनेपछि देशको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेकोको ठहर छ। प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तर नाकाबाट आउने हुँदा रसुवागढी नाका पूर्ण रूपमा भत्किनु आपूर्ति प्रणालीमै ठुलो अवरोध सृजना हुनु हो।’

चीनको केरुङ नाका हुँदै नेपाल भित्रिने तयारीमा रहेका सयौँ गाडी अझै सीमा क्षेत्रमा रोकिएका छन्। बाढीले मुख्य पुल बगाएपछि आयात रोकिनु र चाडपर्व नजिकिँदै गएकाले अवस्था अझ गम्भीर बन्ने चेतावनी संघले दिएको छ। नाइमाले सम्बन्धित सरकारी निकायहरूलाई रसुवा जिल्लामा तत्काल खोज तथा उद्धार, राहत वितरण, दीर्घकालीन पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कार्यहरूलाई उच्च प्राथमिकता दिन अनुरोध गरेको छ।

संघले थप स्पष्ट पारेको छ, यदि सरकार र अन्य सरोकारवालाहरूले चाहेमा, आफूले समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने तयारीमा रहेको छ। ‘तत्कालिक रूपमा गरिनुपर्ने पुनःस्थापनाका कार्यहरूमा सहयोग गर्न हामी सधैं तयार छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उक्त नाकाबाट हुने गाडी आयात तथा व्यापारले नेपालको आर्थिक संरचना र उपभोक्ता बजारमा महत्वपूर्ण योगदान गर्दै आएको सन्दर्भमा यस विपत्तिले नीति निर्माण तहमै सोच्नुपर्ने अवस्था ल्याएको संघको ठहर छ। नाइमाका अनुसार, एकातर्फ मानवीय पीडा न्यूनीकरण आवश्यक छ भने अर्कोतर्फ दीर्घकालीन पूर्वाधार सुदृढीकरण र विकल्पयुक्त आपूर्ति मार्गको पहिचान आजको आवश्यकता हो।

प्रकाशित : 10 July, 2025 12:09 pm