काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूका शाखा कार्यालयमा पुनः तोडफोड र कर्मचारीमाथि हातपातजस्ता घटनाहरू बढ्दै गएका छन्। यसै क्रममा सिराहा जिल्लाको सितापुरस्थित मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा संघर्ष समितिका नाममा एक समूहले हमला गरेपछि शाखा बन्द हुने, तोडफोड हुने र कर्मचारी त्रसित हुने अवस्था सिर्जना भएको हो।
लघुवित्त संस्था नेपाल सरकार र नेपाल राष्ट्र बैंकको कानुनी परिधिभित्र रही, आम सर्वसाधारणबाट संकलित बचत र बैङ्क–वित्तीय संस्थाबाट लिएको कर्जामार्फत दूरदराजका लाखौं विपन्न परिवारलाई घरदैलोमै सेवा पुर्याउँदै आएका छन्। तर, पछिल्लो समयमा स्वार्थप्रेरित समूहहरूबाट शाखा तोडफोड र कर्मचारीमाथि हातपातका घटना बढ्न थालेका छन्।
गत आइतवार असार १५ गते करिब ५०–६० जनाको समूहले मेरोलघुवित्तको सितापुर शाखा कार्यालयमा हातपात गर्दै ताला लगाएको थियो। त्यसको भोलिपल्ट प्रहरी र वडा अध्यक्षको रोहवरमा ताला खोलिएको भए पनि, असार १७ गते पुनः करिब २–३ सय जनाको भिडले कार्यालयमा ढुङ्गामुढा र तोडफोड गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्दै ६ जनालाई नियन्त्रणमा लिए पनि भोलिपल्ट सामान्य सहमतिमा छोडिएकाले कर्मचारी अझै त्रासमा काम गर्न बाध्य छन्।
नेपाल लघुवित्त बैंकर्स संघले यस्ता घटनाको घोर भर्त्सना गर्दै सम्बन्धित दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ। संघले वित्तीय संस्थाको नियमित सेवा प्रवाहमा बाधा पुर्याउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय तह र सरोकारवाला निकायलाई यस्ता अराजक गतिविधि नियन्त्रण गर्न आग्रह गरेको छ।
संघले सम्पूर्ण ग्राहक र सरोकारवालालाई सन्देश दिँदै लघुवित्त संस्था सेवामुखी रूपमा क्रियाशील रहेको र यस्ता घटनाबाट विचलित नभई अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता दोहोर्याएको छ ।
Comment